चन्द्रागिरी हिल्सको लाभांश घोषणा
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो। बैठकले आव २०८१।८२ का लागि वितरणयोग्य मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा कम्पनीको आव २०८१।०८२ को प्रस्तावित बोनस सेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पूँजीको १ बरावर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ को कम्पनीको पूँजी संरचना संसोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र सो सम्बन्धमा नियमनकारी निकायहरूबाट थप सुझाव वा हेरफेर वासंशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्ने गरी संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, संचालक समितिका सदस्यहरूलाई प्रदान गरिने सेवा सुविधा र प्रभु बैकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गरिनेछ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१।८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१।८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८२।८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन्।
















