सोल्टी होटलले सेयरधनीलाई १६ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । पाँचतारे डिलक्स सोल्टी होटेल लिमिटेडका सेयरधनीहरूले १६ प्रतिशत बढी नगद लाभांश र चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर प्राप्त गर्ने भएका छन् । होटलको ५१औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पुँजीको उक्त दरले नगद लाभांश दिने र बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति गठन हुनुका साथै विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू सर्वसम्मतबाट पारित भएका छन् । कम्पनीको उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा कम्पनीका वित्तीय विवरणहरू समावेश रहेको एकीकृत वित्तीय विवरणहरू सर्वसम्मतबाट पारित गरेको छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२।०८३ को लेखापरीक्षण गर्नका लागि जे बि राजभण्डारी एण्ड डिविनिस, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई वैधानिक लेखापरीक्षकमा नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सर्वसम्मतबाट स्वीकृत गरी पारित गरेको छ ।
कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट नियुक्त
कम्पनीको ५१औँ वार्षिक साधारण सभाबाट सञ्चालक समितिमा संस्थागत सेयरधनीहरू मध्येबाट पाँचजना र सर्वसाधारण सेयरधनीहरूबाट तीनजना सञ्चालकहरू र एकजना स्वतन्त्र सञ्चालक गरी कूल नौ जना रहेको सञ्चालक समिति गठन भएको छ । साधारण सभापछि कम्पनीको नवनिर्वाचित सञ्चालक समितिको २६१औँ बैठकको सर्वसम्मत निर्णयबाट दिनेश बहादुर विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । संस्थागत सेयरधनीहरू सोल्टी इन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्दै दिनेशबहादुर विष्ट, रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ र जय राज्यलक्ष्मी शाह नियुक्त भएका छन् । यसैगरी, नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्दै अमृतमान श्रेष्ठ सञ्चालकमा नियुक्त भए । सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रकाशविक्रम खत्री, शशीराज पाण्डे र निरञ्जन कुमार टिबडेवाल सञ्चालकमा निर्वाचित भएका छन् । सभाले डा. माधव गिरीलाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको छ ।
आम्दानी र नाफामा फड्को
गत आवमा दुई खर्ब ७७ अर्ब ३९ करोड आम्दानी, खुद नाफा मात्रै ६५ करोड ३३ लाख आर्थिक वर्ष २०८१।८२ मा कम्पनीको कूल आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ११.०३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष १०.८१ प्रतिशतले बढेको थियो । यस अवधिसम्म आर्थिक वर्षको कूल आम्दानी दुई खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । जबकि गत आवमा दुई खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । यसअनुरुप अघिल्लो आर्थिक वर्षको तुलनामा लगभग २७ अर्ब ५५ करोड रुपैयाँले वृद्धि भएको छ । यस्तै, कम्पनीको अघिल्लो आर्थिक वर्षको ८८ करोड ४९ लाख रुपैयाँको नगद मुनाफाको तुलनामा गत आर्थिक वर्षमा ९८ करोड २६ लाख रुपैयाँ नगद मुनाफा आर्जन गर्न सफल भएको छ । साथै, कम्पनीले अघिल्लो आर्थिक वर्षको ६० करोड रुपैयाँ खुद मुनाफाको तुलनामा गत आर्थिक वर्षमा कर पश्चात् ६५ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सोल्टी होटलले आफ्नो नाम र काम अन्तर्राष्ट्रिय स्तरमै कायम गर्न सफल भएको छ । गत आवमात्रै प्राप्त गरेको आधा दर्जनभन्दा बढी पुरस्कार तथा सम्मानले पुष्टि गरेको कम्पनीले जनाएको छ । कम्पनीको होटेल, द सोल्टी काठमाडौं, अटोग्राफ कलेक्सन होटेल्सले प्रतिष्ठित पुरस्कारहरु प्राप्त गरेका छन् ।
















