एमाले संकल्प यात्रा : ओखलढुंगा हुँदै कोशी प्रवेश, झुलाघाट– चिवाभञ्ज्याङ मा अवरोध नगर्न आग्रह

काठमाडौं । नेकपा (एमाले) ले मध्य पहाडी पुष्पलाल लोक मागमा सुरु गरेको झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्रामा अवरोध नगर्न आग्रह गरेको छ। एमालेको संकल्प आज (मंगलबार) ओखलढुंगा हुँदै कोशी प्रदेश प्रवेश गर्दैछ ।

कोशी प्रदेश प्रवेश गर्न लागेको एमालेको अभियानमा विभिन्न समूहले अवरोध पुर्‍याउने प्रयास गरेको सूचना पाएको भन्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले त्यस्ता गतिविध नगर्न आग्रह गरेका हुन् । ‘एमालेको संकल्प यात्रा घुर्मी भएर कोशी प्रदेश प्रवेश गर्दैछ। यसक्रममा केही समूहहरू द्वारा हाम्रो अभियानलाई अवरोध गर्ने गरी सडक बन्द, प्रदेश बन्द लगायतका बन्द र अवरोधका कार्यक्रमहरू सार्वजनिक गर्ने भन्ने सुनिन आएको छ।

त्यसका निम्ति पार्टीका तर्फबाट औपचारिकरूपमा सबै समूहहरू, पहिचानवादी समूहलगायतका सबैलाई अभियानलाई अवरोध नगर्न बन्द नगर्न, अभियानमा सहयोग पुर्‍याउनका निम्ति अपिल गर्न चाहन्छु,’ उनले भनेका छन्।

नागरिकको विकास–समृद्धिप्रतिको चाहना(अपेक्षालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने सन्दर्भमा राजनीतिक दलको अभियानमा बाधा नपुर्‍याउन पनि उनले आग्रह गरेका छन्। ‘छेक्ने, ढुंगामुढा गर्ने, अवरोध सिजर्ना गर्ने, बन्द गर्नेजस्ता असंवैधानिक गतिविधि नगर्न, आफ्ना कुनै असमहति भए औपचारिकरूपमा शान्तिपूर्ण ढंगले राख्ने आफ्ना ठाउँहरू छन्, त्यो ठाउँमा अहसमति राख्न अनुरोध गर्दछौं,’ उनले भनेका छन्।

प्रदेश नामकरणको विषय कोशी प्रदेश सभाको भएको बताउँदै एमाले एक्लैले नगरेको उनको प्रष्टीकरण छ। ‘यो एमाले एक्लैको निर्णय होइन। यसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सबै राजनीतिक दलहरू यसमा सामेल छन्। उनीहरूको हस्ताक्षर अहिले पनि जीवित छन्। त्यसकारण नेकपा (एमाले) लाई मात्रै निशाना बनाएर गरिने गतिविधि, बन्दहरू कुनै पनि अर्थमा लोकतान्त्रिक हुन सक्दैनन्,’ उनको तर्क छ।

एमालेको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *