हक्की र निडर नेता केशवकुमार बुढाथोकीको निधन
काठमाडौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको (कुमार बुढाथोकी) निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका-८ निवासी बुढाथोकीको ८० वर्षको उमेरमा उपचारको क्रममा गएराति (नोबेल मेडिकल कलेजको शिक्षण अस्पताल बिराटनगरमा हिजो माघ २२ गते करिब ११.३० बजे राती) निधन भयो।
जनमत संग्रहपछि पंचायती ब्यवस्थाले बालिक मताधिकारका माध्यमबाट स्थानीय गाउँ पंचायत निर्वाचन गर्ने निर्णय गरेसगै २०३८ सालमा शनिश्चरे गाउँ पंचायतको प्रधानपंचमा अत्याधिक मत ल्याएर निर्वाचित भए पश्चात् झापा जिल्ला पंचायतको सभापतिका रूपमा काम गर्नु भएको थियो । जिल्ला पंचायत सभापति हुँदा अत्यन्तै लोकप्रिय बुढाथोकी, २०४३ सालको राष्ट्रिय पंचायतको निर्वाचनमा झापा जिल्लाबाट राष्ट्रिय पंचायत सदस्यका रुपमा नेपालको केन्द्रिय राजनीतिमा आएका थिए ।
राष्ट्रिय पंचायत सदस्य भएपछि तत्कालीन राजा बिरेन्द्रसंग दार्जिलिङमा सगै पढेको साथीका नाताले राजा बिरेन्द्रसंग विशेष किसिमको सम्बन्धले केन्द्रिय राजनीतिमा आए पश्चात् अझ ब्यपक र चर्चित बन्न पुगेको थियो । राजा बिरेन्द्रले अति निकट साथीका नाताले जलस्रोत तथा सिचाइ मन्त्रालयको सिचाइ डिभिजन हेर्ने गरि सहायक मन्त्री बन्न सफल भए । २०४६ सालको जन आन्दोलनका समयमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको काम गराई चित्त नबुझी सहायक मन्त्री पदबाट राजीनामा दिई पंचायती ब्यवस्थाबाट अलग रहेर स्वतन्त्र राजनीतिज्ञका रूपमा आफुलाई उभ्याउनु भएको थियो । केही समय स्वतन्त्र रहेर काम गरेपछि आफ्नो मात्री पार्टी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो ।
नेपाली कांग्रेस झापा जिल्लामा अत्यन्तै चर्चित भएकै कारण दोश्रो संबिधानसभाको निर्वाचनमा निर्वाचित भएर सामान्य प्रशासन मन्त्रीका रूपमा दोश्रो पटक मन्त्री भएर आफ्नो क्षमता प्रदर्शन गर्नुभएको थियो । दिवंगत बुढाथोकी अत्यन्तै निडर र हक्की स्वभावका नेताका रूपमा चिनिन्थे । प्रतिबन्ध नेपाली कांग्रेसको कालखण्ड अनि पञ्चायती कालखण्ड र पुनः नेपाली कांग्रेसमा रहेर राजनीतिमा सक्रिय बुढाथोकीले ‘आफ्नो-आफ्नो सगरमाथा’ नामक पुस्तकका लेखक पनि हुन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

















