विकास बैंकहरुमध्ये कामना र गरिमा अब्बल

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट ७ राष्ट्रियस्तरका विकास बैंक लाभांश दिनसक्ने अवस्थामा देखिएका छन् । बैंक तथा वित्तीय संस्थाले प्रकाशन गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार राष्ट्रियस्तरका ८ विकास बैंकमध्ये ७ वटाको स्थिति सबल देखिएको हो । ज्योति विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेकाले उसले लाभांश बाँड्न सक्दैन । ७ मध्ये सबैभन्दा अब्बल कामना सेवा विकास बैंक रहेको देखिएको छ । वित्तीय विवरणअनुसार कामना सेवाको लाभांश क्षमता अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा १०.९१ प्रतिशत छ ।

जुन सञ्चालनमा रहेका अरु ७ राष्ट्रियस्तरका विकास बैंक र १७ वटा वाणिज्य बैंकको भन्दा बढी हो । लाभांश क्षमताका आधारमा कामना सेवाभन्दा माथि वाणिज्य बैंकहरु एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड र नबिलमात्र छन् । विकास बैंकहरुमध्ये लाभांश क्षमतामा कामना सेवा पछि गरिमा विकास बैंक रहेको छ । गरिमाले गत आवको वितरणयोग्य नाफाबाट १०.५२ प्रतिशत लाभांश दिन सक्छ । लाभांश क्षमताको सूचीमा कामना सेवा र गरिमापछि क्रमशः शाइन रेसुंगा, लुम्बिनी, शांग्रिला, मुक्तिनाथ र महालक्ष्मी विकास बैंक छन् । उनीहरुको लाभांश क्षमता क्रमशः ८.१२, ७.४, ५.१८, ४.७१ र ४.२५ प्रतिशत रहेको छ । राष्ट्रियस्तरका विकास बैंकमध्ये सबैभन्दा बढी नाफा गर्ने बैंक मुक्तिनाथ होे । मुक्तिनाथले आर्थिक वर्ष २०८०।८१ मा १ अर्ब २७ करोड नाफा गर्दा दोस्रो बढी नाफा गर्ने विकास बैंक गरिमा हो । गरिमाको नाफा १ अर्ब १३ करोड छ । नाफाको आधारमा शाइन तेस्रो, लुम्बिनी चौथो र कामना पाँचौं स्थानमा छन् । गरिमा र कामना सेवाको अब्बलता यतिमा मात्रै सिमित छैन । उनीहरुको प्रतिशेयर आम्दानी बाँकी विकास बैंकको भन्दा राम्रो छ भने १५ वाणिज्य बैंकहरुको भन्दा सबल । गरिमाको प्रतिसेयर आम्दानी २० रुपैयाँ हुँदा कामनाको १८.३८ रुपैयाँ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *