विद्यार्थी नेताको मृत्युपछि बंगलादेशमा भड्कियो हिंसा
काठमाडौं । गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनको नेतृत्वकर्ताहरू मध्येमा पर्ने विद्यार्थी नेता शरिफ उस्मान हादीको मृत्यु पछि राजधानी ढाकासहित कयौं क्षेत्रमा हिंसा भड्किएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका शरिफको सिंगापुरमा उपचारका क्रममा मृत्यु भएपछि राजधानी ढाकाका धानमन्डी, शाहबागसहित कयौं स्थानमा बिहीबार विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटना भएका छन् । प्रदर्शनकारीले बिहीबार रातभर ढाकाका कयौं स्थानमा आक्रमण गरेका छन् । बंगलादेशका दुई प्रमुख अखबारका कार्यालयहरू पनि आक्रमणकारीको निसानामा परेका बीबीसीले जनाएको छ । बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले बिहीबार राति ११स्२० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकलाई धैर्य हुन अपिल गरेका छन् । उनले कुनै पनि प्रकारका ‘प्रचार र अफवाहमा ध्यान नदिन र हतारमा निर्णय नलिन आग्रह गरेका छन् । बीबीसीका अनुसार मोहम्मद युनुसले शनिबार राजकीय शोकको पनि घोषणा गरेका छन् । उता, इन्कलाब मञ्चले सामाजिक सञ्जाल फेसबुकमा शरिफ उस्मान हादीका आफन्तले शुक्रबार शव बंगलादेश ल्याउन लागेका जनाएको छ । गत शुक्रबार शरिफलाई ढाकाको एक मस्जिदबाट बाहिरिने क्रममा गोली हानिएको थियो । टाउकोमा गोली लागेका कारण उनी गम्भीर रूपले घाइते भएका थिए । शरिफलाई १५ डिसेम्बरमा थप उपचारका लागि सिंगापुर लगिएको थियो । सिंगापुरमा बिहीबार उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का कार्यवाहक अध्यक्ष तारिक रहमान, जमात–ए–इस्लामी र एनसीपी (नेशनल सिटिजन्स पार्टी) समेत विभिन्न पार्टीहरूका नेताहरूले हरिफको निधनप्रति शोक व्यक्त गरेका छन् । शरिफको मृत्युको खबर फैलिएसँगै प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । प्रदर्शनकारीले ढाकामा प्रोथोम आलो र डेली स्टार अखबार, धानमन्डी ३२ स्थित शेख मुजीबको घर र छायानाट संस्कृति भवनमा आक्रमण गरेर तोडफोड र भवनमा आगो लगाएको बीबीसीमा समाचार छ । आगजनीको समयमा कयौं पत्रकारहरू दुवै सञ्चारमाध्यमका भवनभित्र फसेका थिए । पछि सेना, प्रहरीले आक्रमणकारीलाई तितरवितर गराएको थियो । दमकलको सहायतमा भवनमा लागेको आगो नियन्त्रणमा लिएर भवनमा फसेका पत्रकारलाई सुरक्षित बाहिर निकालिएको थियो । आगजनीपछि शुक्रबार दुवै पत्रिकाको शुक्रबारको अंक बजारमा आएको छन । दुवै सञ्चारमाध्यमका अनलाइन सेवाहरू पनि लगभग ठप्प रहेको बीबीसीले जनाएको छ । उनी गत वर्ष अगस्तमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध सुरू भएको विद्यार्थी आन्दोलनका प्रमुख अनुहारमध्ये एक थिए । शरिफ हादी उस्मान शेख हसिनाविरोधी इन्कलाब मञ्चका सदस्य थिए । आगामी फेब्रुअरीमा हुने भनिएको निर्वाचनका लागि सम्भावित उम्मेदवार मानिएका थिए । आक्रमणअघि उनी ढाका–८ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गर्दै आएका थिए । इन्कलाब मञ्च गत वर्षको जुलाईमा भएको विद्यार्थी आन्दोलनका क्रममा चर्चामा आएको थियो । यो समूहमाथि कट्टरपन्थी संगठन र अवामी लिगलाई कमजोर बनाउने प्रयासमा अघि बढेको आरोप लागेको थियो । विद्यार्थी आन्दोलनमा भूमिका निर्वाह गरे पनि युनुस सरकारले यो संगठन भंग गरिदिएका थिए । संगठनमाथि राष्ट्रिय निर्वाचन लड्न पनि रोक लगाएका थिए ।
















