गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै !

काठमाडौँ । गोर्खा मिडिया नेटवर्कमार्फत सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालकहरूको सहकारी ठगी काण्डले सञ्चालक मध्येका एक जना छवि जोशीको गिरफ्तारीपछि नयाँ मोड लिएको छ ।

काठमाडौँमा गिरफ्तार गरी पोखरा पुर्याएका जोशीले प्रहरी अनुसन्धान ब्युरो सीआइबी समक्ष दिएको बयानमा गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा ल्याउने ’आइडिया’ जीवी राईलाई रवि लामिछानेले नै दिएको बताएका छन् । रविले नै जीवी लाई भव्य नाफा हुन्छ भनेर जीवी लाई उक्साएर रविले विभिन्न सहकारीको रकम गोर्खा मिडियामा ट्रान्सफर गरी मनपरी खर्च गरेको जोशीको दाबी छ । जोशी गिरफ्तारीमा परे आफ्नो पोल खुल्छ भन्ने त्रासमा रहेका लामिछाने सकभर जोशी पक्राउ नै नपरून् भन्ने चाहन्थे । पक्राउ परेपछि जोशीले सत्य तथ्य कुराको बयान दिँदा आफ्ना काला कर्तुत उदाङ्ग हुन्छन् भन्ने कुरालाई लिएर लामिछाने निकै आतङ्कित बनिरहेको बेला जोशीले त्यस्तो बयान दिएका हुन् । जोशीभन्दा अगाडि संसदीय छानबिन समितिमा बयान दिने क्रममा जीवी राईका सबै सहकारीहरूमा सफ्टवेयर हेर्ने विश्वेश्वर अर्याल र लेखा परीक्षक सागर भण्डारीले पनि त्यसको स्पष्ट सङ्केत दिएका थिए । जीविका पार्टनर रवि भनेर जीविका सहकारीहरूमा परिचय बनाएका रवि जीवी सँग बारम्बार बैठक गरिरहन्थे । अर्यालले तिनीहरूको बैठक स्थललाई पनि लोकेट गरेका छन् । जोशीको गिरफ्तारीपछि अब सरकार कारबाहीमा उत्रियो भन्ने लागेपछि रविले अत्तालिएर पार्टी कार्यालयमा आउन कार्यकर्ता र आम जनतालाई अपिल गरेका थिए । दुई दिनसम्म कार्यालयमा घेरिएर बसेका लामिछानेले आफू सहकारी ठग नभएको प्रमाणित भएको दाबी गरेका छन् । सहकारीको रकम अपचलन गर्नेमा आफू नपरे पनि कसैले ल्याएको रकम भने आफूले चेक काटेर खर्च गरेको उनले स्वीकार गरेका छन् ।

आफूलाई सहकारी ठगको आरोप लगाउने पक्षले सहकारीको पैसा अपचलन आफूले गरेको स्वीकार गरे सहकारीबाट कसैले ल्याएको रकमको खर्च गर्दा भएको गल्तीको आफूले जिम्मा लिने लामिछानेको सर्त छ । आफू सहकारी ठगीको आरोपबाट पूर्णरुपले मुक्त रहेको उनको दाबी रहे पनि घटनाक्रमले भने त्यस्तो बताउँदैन । लामिछानेले सहकारीको रकम ल्याउन र दुरुपयोग गर्न कुनै कसर बाँकी राखेका छैनन् । त्यो कुरा यस अघि नै पोखराको सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेलले बताइसकेका छन् । लामिछानेको नाम, ठेगाना, तस्बिर र हस्ताक्षर सहितको सहकारीमा खाता भेटिए पनि त्यसलाई आफ्नो खाता हो भनेर स्विकार्न लामिछाने तयार नभएको भन्ने बेहोराको समाचार बुधवारको कान्तिपुरले प्रकाशित गरेको छ । संसदीय समितिले पनि बुटवल ११ का रवि लामिछाने र पोखरा सिर्जना चोकका रवि लामिछाने भनेर ऋण प्रवाह भएको कुरा उल्लेख गरेको थियो । त्यो रकम पनि गोर्खा मिडिया प्रा.ली.मा नै जानुले त्यो व्यक्ति रास्वपा सभापति रवि लामिछाने नै भएको स्पष्ट हुन्छ । बुटवलको सुप्रिप सहकारीकी रोशन गुरुङले नै आफूले रविको खातामा २ करोड रुपैयाँ जम्मा गरिदिएको बयान दिइसकेकी छन् ।

गोर्खा मिडिया ग्रुपको कार्यकारी निर्देशक हुनु, त्यसको पन्ध्र प्रतिशत शेयरको मालिक हुनु र एकल हस्ताक्षरमा चेक काटेर आफन्तलाई समेत मनपरी रकम बढ्नुले लामिछानेले ‘पानीमाथि ओभानो’ हुने सम्भावना देखिँदैन । गोर्खा मिडियाको ग्लोबल आइएमई बैङ्कमा रहेको खाता सञ्चालकमा जीवी राई, रवि लामिछाने र छविलाल जोशी रहेको देखिन्छ । तिनीहरू तीनैजनाको एकल हस्ताक्षरको आधारमा चेक काट्ने अधिकार प्राप्त व्यक्ति हुन । र, लामिछानेले नै आफ्नो ससुरा, उनकै कोर टिम ग्रुपका व्यक्ति जो हाल रास्वपा नेतृत्वमा छन् समेतलाई र अन्य मन पर्ने थुप्रै व्यक्तिलाई पेस्की स्वरूप रकम बाँडेका छन् ।
सहकारीको रकम ल्याउने योजनाकार उनै भएको कुरा जोशीको बयानका आधारमा मात्र होइन, घटनाक्रमले पनि स्पष्ट गरेको छ । अदृश्य पैसा कम्पनीमा आइरहँदा पनि रविलाई थाहा हुँदैन भनेर पत्याउने हो भने उनी अन्डरवल्र्डको पैसा आए पनि स्रोत नखोजी भोजन गर्थे त भन्ने प्रश्न उठ्न सक्छ । त्यसमा लामिछाने के जवाफ दिन्छन् ? जोशी पक्राउ परेपछि आफ्नो इज्जत बचाउका लागि उनले गरेको फेसबुक लाइभमा उनले अदालत, महान्यायाधिवक्ता कार्यालयमा तत्कालीन र वर्तमान प्रधानमन्त्रीले समेत आफूले सहकारीको रकम अपचलन नगरेको भनेर भनिसकेकोले पनि आफू निर्दोष नै ठहरिएको बताएका छन् । तर यो कुरा उनका कार्यकर्ता बाहेक अरू कसैले पनि मान्न तयार छैनन् । उनी गृहमन्त्री हुँदा पोखराका पीडितले दिएको पूरक उजुरी नै गायब गराइएका थिए । त्यही गायब पूरक उजुरीलाई जगाएर अहिले त्यही उजुरीका आधारमा प्रक्रिया अघि बढाउने काम भइरहेको छ ।

छवि जोशी पक्राउ परेपछि लामिछाने समर्थकले देखाएको उद्दण्डताबाट पोखराका पीडित झन् आहत भएका छन् । तिनले पीडितको उपहास गर्न थालेपछि पोखरामा पीडित पनि सडकमा आए । लामिछाने समर्थकको उद्दण्ड व्यवहारको निन्दा गर्दै सूर्य दर्शन सहकारी बचत पीडित सङ्घर्ष तदर्थ समिति र कास्की सहकारी बचत सङ्घले अपिल जारी गर्दै रास्वपाले सहकारी पीडितको उपहास गरेको भनेर निन्दा गरेका छन् । नागरिकता, पासपोर्ट, शालिककराम पुडासैनी, आफ्नै गाडी चालक समेतका सन्दिग्ध हत्या सम्बन्धमा गलत कुरा भनेर जनतालाई झुक्क्याउँदै आएका लामिछानेले यस पटक पनि त्यस्तो दुस्साहस गरेका छन् । तर यस पटक त्यति सहज स्थित भने छैन । यस पटक उनी फस्ने निश्चित छ । पोखराका पीडित त सडकमै आएर उनलाई गिरफ्तार गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिरहेका छन् । सत्तारुढ गठबन्धनले आफूलाई राजनीतिक प्रतिशोध लिन र वैकल्पिक शक्ति निर्माणको सम्भावनालाई टार्न यो डरलाग्दो आर्थिक अपराधलाई राजनीतिक रङ्ग दिएर रबि आफूलाई बचाउने प्रयास गरिरहेको छन् ।

लामिछाने स्वयं र उनका पार्टीका नेताहरू अहिले न्यायाधीश, पार्टीका नेता, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, आदिलाई न्याय दिन अनुनय विनय गरिरहेका छन् । पूर्व मन्त्री एवं काँग्रेस नेता भीमसेनदास प्रधानले हालै त्यसको रहस्य खोलिदिएका छन् ।
अहिले एकधरि मिडिया, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी आदि दलका नेताले यसलाई राजनीतिकरण गरेर लामिछानेलाई बचाउने कोसिस गरिरहेका छन् । माओवादी केन्द्रका नेता पुष्पकमल दाहालका प्रमुख सहयोगी रहेका व्यक्तिहरू लामिछानेलाई बचाउन नाङ्गो रूपमा उत्रिएका छन् । संसदीय समितिको अध्ययन प्रतिवेदन सशक्त बन्न नसक्नुमा पनि दाहालका तर्फबाट सदस्य रहेका लेखनाथ दाहाल र लामिछानेको समूहका शिशिर खनालले त आफैँले बारवाहीको सिफारिस गरेर ‘क्लिन चिट’ दियो भन्ने बकवास गर्दै हिँडे । यो परिप्रेक्षकमा हेर्दा लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने, कारबाही गर्ने र पीडितको रकम फिर्ता गराउने प्रक्रिया अब रोकिँदैन । अहिले पनि लामिछाने निर्लज्ज रूपमा पीडितको पैसा फिर्ता गराउन आफू र आफ्नो पार्टी दिलो ज्यानले लागिपर्ने कुरा गरेर जनतालाई फेरि बेकुफ बनाउन खोजिरहेका छन् ।

अदालतको अनुमति लिएर पक्राउ गर्न आए जाने र प्रहरीले यत्तिकै पक्राउ गर्न खोजे प्रतिकार गर्ने तर कानुनी प्रक्रियालाई सहयोग गर्ने कुरा लामिछानेले फेसबुक लाइभमा गरेका छन् । तर सरकारले कानुन बमोजिम गरिने कारबाही चाहिँ नरोकिने, हुल हुज्जतबाट अपराधकर्मले छुट पाउँदैन भन्ने सरकार सम्बद्ध स्रोतको दाबी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *