नदीको सतह बढेसँगै ‘हाईअलर्ट’मा रहन प्रमुख दाहालको आग्रह

चितवन । भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहालले केही दिनदेखि भइरहेको वर्षाले नदीको सतह क्रम बढ्दै गइरहेकाले ‘हाईअलर्ट’मा रहन नारायणी, राप्ती र नदी क्षेत्रमा बसोबास गर्ने महानगरवासीलाई आग्रह गर्नुभएको छ । वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख दाहालले सम्बन्धित वडा कार्यालयहरूमार्फत बसोबास, खानपिन तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको बताउनुभएको छ । शनिबार विहान भरतपुर महानगरका तटिय क्षेत्रमा पर्ने वडाहरुको निरीक्षण पश्चात प्रमुख दाहालको अध्यक्षतामा जिल्लास्थित सुरक्षा प्रमुख तथा सरोकारवालाको बैठक बसी आपतकालिन उद्धार तथा राहतका लागि उपसचिव उपेन्द्रराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय सूचना संकलन तथा उद्धार सेल गठन गरिएको छ ।

अविरल वर्षाको कारण महानगरपालिकाको नारायणी र राप्ती नदीका तटीय वडाहरु ९वडा नं. १,३,१३,१६,१७,२६,२७,२८ र २९० मा १३५ घरका १२१ जना मानिस र २४ वटा पशु चौपायको सकुशल उद्धार गरिएको जनाएको छ । वर्षाले मानव वस्तीमा क्षति पुग्नसक्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बसोबास गर्नुहुन र तत्काल उद्धार गर्न परेमा नजिकको प्रहरी चौकी वा जनप्रतिनिधि वा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ । साथै विपद्बाट प्रभावितहरूलाई घुम्ती स्वास्थ्य टोलीमार्फत निःशुल्क स्वास्थ्य सेवा, शारीरिकरूपमा असक्त रहेका, सुत्केरी, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने महानगरले जनाएको छ । स्वास्थ्य सेवाको लागि जनस्वास्थ्य प्रमुख दीपक सुवेदी मोबाईल नम्बर ९८४४२१०८५९, एम्बुलेन्स सेवाका लागि जगतपुर स्वास्थ्य चौकी ९८४४९६७२८८, भरतपुर स्वास्थ्य चौकी ९८४५६५००० र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र ९८४५०५११२७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *