मुख्य चार दलका प्रमुख सचेतकहरूबीच छलफल

काठमाडौँ । संसद्‌मा प्रतिनिधित्व गर्ने मुख्य चार दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ ।  

शुक्रबार सिंहदरवारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा संसदीय काम कारबाहीका सम्बन्धमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन्। छलफलमा चारै दलका मुख्य सचेतक र प्रमुख सचेतकहरू सहभागी थिए । सरकारले अब छिट्टै संसद् बैठक बोलाउने भएकाले संसद अधिवेशनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रित रहेर छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

उनले सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो–छरितो ढंगबाट कानून निर्माणको तहमा पुर्‍याउन संसदीय दलहरुले भुमिका खेल्ने विषयमा छलफल भएको बताए । ‘आजको बैठकमा हामीले विधेयक निर्माणका सन्दर्भमा कसरी अगाडि बढ्नसक्छौं । हामीले साझा ढंगबाट संसदभित्रका कामहरु कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा छलफल चलायौं,’उनले भने,‘सामान्यतया हामी संसदीय काम र प्रक्रियाहरुका सन्दर्भमा समय समयमा छलफल गरेर विधेयकका सन्दर्भमा होस्, कन्टेन्टका सन्दर्भमा र अन्य विषयमा पनि एकमत निर्माण गरेर अगाडि बढ्ने गरेको इतिहास नै छ । र यो नियमित प्रक्रियाभित्र रहेर आज हामीले छलफल गरेका हौं ।’

उनले सरकारले संसदमा ल्याएका विधेयकहरु संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई हल गरेर जान प्रमुख चार दलहरुबीच सहमति भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *