अदालत उपस्थित भए रवि लामिछाने, थुनछेक बहस जारी
काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बहस सुरु भएको छ ।
सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजबाट हुने थुनछेक बहसका लागि उपस्थित भएका हुन् । हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडेका थिए । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको थियो ।
आजबाट कानुन व्यवसायीहरू थुनछेक बहसमा सहभागी हुनेछन् । सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो ।