कुमारी बैकको अगुवाईमा सवा १५ अर्ब लागतमा मर्स्याङ्दी हाइड्रो बन्ने
काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा माघ १८ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि बिकास बैक लिमिटेड लगायतका बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ । स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ ।
साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पूर्वआवश्यक डीउ डेलिजेन्स स्टडी अगाडी बढाएको कम्पनीका अध्यक्षले बताए । यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मेवा निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।आयोजनाको नेपाल बिद्युत प्राधिकरण सँग २०८० साल कार्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । आयोजनाले २०८६ साल वैशाख २२ गतेभित्र व्यवसायीक उत्पादन थाल्ने छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताउनु भएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११।६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०÷१३२ केभी मा जोडिने छ ।