भरतपुर महानगरपालिका उत्कृष्ट पालिका

चितवन । कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य ६ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष २०८२–०८३ मा संघीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित) अनुदान वृद्धि भएर जानेछ ।

आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्यांकन गर्दा महानगरपालिकाअगाडि आएको हो । ती सूचकहरूमध्ये पालिकाले गरेको खर्च, बेरूजु, लेखा परीक्षणले औँल्याएको बेरूजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेकोलगायतका सूचकमा मूल्यांकन गर्ने गर्छ । अर्यालका अनुसार भरतपुर महानगरले ७६.२ प्रतिशत, विराटनगर महानगरले ७३.५ प्रतिशत, ललितपुर महानगरले ६६.७ प्रतिशत, काठमाडौं महानगरले ५४.३ प्रतिशत, पोखरा महानगरले ५१ .५ प्रतिशत र वीरगन्ज महानगरले ४३.१ प्रतिशत अंक प्राप्त गरेका छन् । चितवन जिल्लाका सात पालिकामध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *