एमबीएल इक्विटी फण्डमा मागभन्दा बढी आवेदन
काठमाडौं । माछापुच्छ्रे क्यापिटलको एमबीएल इक्विटी फण्डका सबै इकाई बिक्री भएका छन् । गत फागुन २२ गतेदेखि आज चैत ७ गतेसम्म निष्काशन गरिएको एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित १ अर्ब २० करोड रुपैयाँको बन्दमुखी योजनाका सबै इकाई बिक्री भएका हुन् । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई बिक्री गरेको हो ।
जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक माछापुच्छ्रे बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको म्युचुअल फण्डमा आज अन्तिम दिनसम्म ५९ हजार ४४७ जना आवेदकले १३ करोड २० लाख ८९ हजार ८८० इकाईका लागि १ अर्ब ३२ करोड ८ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १२ वर्ष अवधि रहेको म्युचुअल फण्डको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।