क्यानले विश्वकप लिग-२ को तयारीका लागि छान्यो ४८ खेलाडी
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को आगामी सिरिजको तयारीका लागि ४८ खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको छ ।
क्यानले प्रशिक्षण क्याम्पका लागि हालै पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरेको छ । जसमा किरण ठगुन्ना, दिपेन्द्र रावत, अर्जुन घर्ती, तृतराज दास, प्रज्वल थापा, बिशाल पटेल, रुपेश सिंह जस्ता खेलाडीलाई समावेश गरिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले जुनमा स्कटल्याण्ड र नेदरल्याण्डससँग स्कटल्याण्डमा खेल्ने तालिका रहेको छ ।
विश्वकप लिग-२ मा नेपालको अहिलेसम्मको प्रदर्शन निराशाजनक रहेको छ । नेपालले १२ खेल खेल्दै केवल २ जित र ८ हार र २ खेलमा अंक बाडेपछि ६ अंकसहित हाल सातौं स्थानमा रहेको छ ।
विश्वकप लिग-२ मा हाल अमेरिका १६ खेलमा २२ अंकसहित शिर्ष स्थानमा रहेको छ भने नेदरल्याण्डस २० अंकसहित दोस्रो र २० अंकसहित नै क्यानडा तेस्रो स्थानमा छ । त्यस्तै ओमान १८ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड ११ खेलमा १४ अंकसहित पाँचौं र नामिबिया २० खेलमा १४ अंकसहित छैटौं स्थानमा छ । नेपालभन्दा पछाडी युएई ११ खेलमा ४ अंकसहित पुछारमा रहेको छ ।
