संसद्ले एकै दिन बनायो ५ वटा ऐन

काठमाडौं । संघीय संसद्ले एकै दिनमा विभिन्न ५ वटा ऐन बनाएको छ । राष्ट्रिय सभामा एकैसदन पाँच वटा विधेयकमाथि दफावार छलफल भयो । दफावार छलफलपछि पाँच वटै विधेयक क्रमश पारित भए । सोमबार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए । बाँकी तीन वटा विधेयक अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेका थिए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन( विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको हो । राष्ट्रिय सभाबाट पारित पाँच वटै विधेयकको सन्देश सोमबार नै प्रतिनिधि सभामा टेबुल भयो । राष्ट्रिय सभाबाट पारित भएर गएको विधेयकका लागि प्रतिनिधिसभाको दोस्रो बैठक बसेको थियो ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा पाँच वटै विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गरिएको हो । यो सँगै संघीय संसद्का दुवै सदनले पाँच वटा विधेयक पारित गर्ने प्रक्रिया पूरा गरे । सभामुखले पनि सोमबार नै राष्ट्रपतिकहाँ पठाएका छन् । राष्ट्रपतिले पनि सोमबार नै ती विधेयकहरू प्रमाणीकरण गरे । यो सँगै ५ वटा विधेयक ऐनको रुपमा रुपान्तरित भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *