काठमाडौंमा आज शिक्षक, राप्रपा र सहकारी पीडित सडकमा
काठमाडौं । आज (मंगलबार) काठमाडौं उपत्यकामा विभिन्न समूहले सडक प्रदर्शन गर्ने भएका छन् ।
नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा ऐनको माग गर्दै माइतीघर-बानेश्वर क्षेत्रमा धर्नामा बस्ने भएको छ । उनीहरु गत बुधबारदेखि यही माग राखेर आन्दोलित छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध प्रदर्शन गर्ने भएको छ। राप्रपाले यस कार्यक्रमका लागि प्रशासनबाट अनुमति लिइसकेको छ । यता सहकारी र लघुवित्त पीडितहरुले पनि शान्तिबाटिकामा भेला भएर आफ्ना मागहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
एकैदिन तीनवटा फरक(फरक समूहको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने सम्भावना रहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गर्ने व्यवस्था मिलाएको जनाएको छ। प्रहरीले प्रदर्शन हुने क्षेत्रका सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ ।
आज बिहानैदेखि सवारी चाप नियन्त्रण गर्न र जनसाधारणको दैनिक आवतजावत सहज बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले केही मुख्य स्थानमा सवारी साधनहरू डाइभर्ट गर्ने निर्णय लिएको छ ।