बज्रयान महाविहारका दाताहरूलाई उपप्रधानमन्त्री सिंहद्वारा सम्मान
काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुद्धजन्मभूमि लुम्बिनीमा नेपाली वास्तुकलाको अनुपम नमूना ‘लुम्बिनी बज्रयान महाविहार’ निर्माणका लागि अमूल्य कलाकृति तथा वस्तु दान प्रदान गर्ने दाता महानुभावहरूलाई आज यहाँ सम्मानपत्र प्रदान गरेका छन् ।
विसं २०६८ तिर निर्माण प्रारम्भ गरिएको यस महाविहारको निर्माण स्वदेशभित्रबाटै स्रोत जुटाएर सम्पन्न गरिएको हो । यस महाविहार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले चार करोडभन्दा बढी रकम आर्थिक सहयोग प्रदान गरेको थियो । सो अवसरमा उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले नेपालीहरूकै अग्रसरतामा स्वदेशकै स्रोत साधन जुटाएर लुम्बिनीमा बज्रयान महाविहार निर्माण सम्पन्न भएबाट कुशल नेतृत्व भए लक्ष्य प्राप्तिसँगै जनविश्वास प्राप्त हुन्छ तथ्य स्थापित हुनपुगेको बताए ।
महाविहार निर्माणमा सहयोग पु¥याए झैँ विकास निर्माणका गतिविधि तथा स्थिरताका लागि पनि हातेमालो गर्न नेपाली समाजका प्रबुद्ध वर्गसँग उनले आह्वान गरे । महाविहारका चक्रेश्वर प्रा डा नरेशमान बज्राचार्यले आफ्नै स्रोतबाट सफलतापूर्वक महाविहारमा निर्माण गर्न वस्तुगत तथा नगद सहयोग गर्ने उदार हृदयका दाताहरूप्रति कृतज्ञता प्रकट गर्दै नेता गणले पनि राजनीतिक विचारधारालाई भन्दा समाज र राष्ट्र हितलाई प्राथमिकता राख्न आग्रह गरे ।
समाजसेवी तथा पर्यटन व्यवसायी कर्ण शाक्यले नेपाली जनता सुसंस्कृत तथा मनकारी भएको र यसै कारण पनि विश्वमाझ चिनिएको बताए । उक्त कार्यक्रममा महाविहारमा स्थापना गर्न बुद्ध तथा अन्य देवीदेवताका मूर्ति, चैत्य, कलात्मक झ्याल, तोरण, सुनौलो गजुर, बज्रधातु मण्डल, सिंहका प्रस्तर मूर्तिलगायत विभिन्न कलात्मक सामानहरु तथा नगद दान गर्ने दाता महानुभावहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।