‘शिक्षकहरूलाई तुरुन्त विद्यालयमा पठाउने व्यवस्था गरियोस्’
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई तुरुन्त विद्यालयमा पठाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बोल्दै शिक्षकहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रूपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद खतिवडाले शिक्षकहरू काँग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख गरे । शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाई थियो ।
उनले भने, ‘शिक्षक नेपाली काँग्रेस, एमाले र माओवादीका मात्र होइनन् सम्पूर्ण देशका हुन् र सबैलाई पढाउने शिक्षक हुन् । उहाँहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा जुलुस निकाल्ने, पानीको फोहोरा खुवाउने र गीत गाउने रूपमा व्यवस्थापन नगरियोस् । तुरुन्त विद्यालयमा पठाउने व्यवस्था गरियोस् ।’
काठमाडौं केन्द्रित शिक्षकहरुको आन्दोलन आज २८औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐनलगायत माग राखेर शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् ।