प्रधानमन्त्रीद्वारा कोशी लगानी सम्मेलन २०८२ को उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को उद्घाटन गरेका छन् ।
नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज विराटनरगरमा उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरेका हुन् ।
“पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुहुन्छ । लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइन्न । कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ । लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व पश्चिम राजमार्ग हामी बनाइसक्छौँ । हामी कच्चा पदार्थ पनि ल्याउन सक्छौँ । त्यसकारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनाहरूलाई हामीले पहिल्याउन सक्छौँ ।’’, प्रधानमन्त्री ओलीले भने, “देशमा सामान ल्याउन र लान कुनै हिसाबले रोकिँदैन । आफ्नो उत्पादनको बजार कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लान सक्ने गरी बाटो बनिसकेको छ । विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ । सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडीबुटीहरूको थलो कोशीका जनता शिक्षित र मेहनती छन् । त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना रहेको छ ’’ उनले भने ।
प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारादाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई अवगत गराए । प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए ।