बलिराम चौहानको निर्देशनमा चलचित्र ‘द ब्ल्यू लाइट’ बन्ने
काठमाडौं । निर्देशक बलिराम चौहानको निर्देशनमा चलचित्र ‘द ब्ल्यू लाइट’ बन्ने भएको छ । मङ्गलवार निर्माण पक्षले एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो । ‘द ब्ल्यू लाइट’लाई नरेन्द्र मैनालीले खिच्नेछन् । ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् । चलचित्रको थिम पोस्टरमा नामजस्तै निलो कलरको बीचमा एक बालिका उभिएकी छन् । उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग देखिन्छ । जुङरुङ्ग कपाल छ । उनको अगाडि निलो कलर छ । निलो बादलजस्तो पनि देखिन्छ । बालिकाको गेटअप र अवस्था हेर्दा उनी विछिप्त हुन् कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ । तर, प्रष्ट छैन ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को-प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् ।