कुमारी बैंकको एटीएम र पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने

काठमाण्डौं । कुमारी बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ अब आफ्ना सम्पूर्ण एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने व्यवस्था सुरु गरेको छ। यस निर्णयले बैंकिङ्ग सेवामा आधुनिकता थप्नुका साथै ग्राहकहरूको सुविधामा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। नयाँ सुविधा अन्तर्गत मास्टर कार्ड प्रयोगकर्ताहरूले अब कुमारी बैंकका एटीएममार्फत सजिलै रकम झिक्न सक्नेछन् भने पीओएस टर्मिनलमार्फत पसलहरूमा खरिद भुक्तानी समेत गर्न सक्नेछन्। यसले व्यापारी वर्गलाई समेत डिजिटल कारोबारप्रति प्रोत्साहित गर्दै थप व्यापारिक सहजता ल्याउने बैंकको विश्वास छ। कुमारी बैंकले २४ वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको छ र हाल देशभर ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले विद्युतीय कारोबारलाई केन्द्रमा राख्दै, डिजिटल नेपालको अभियानमा सार्थक योगदान दिन प्रतिबद्धता जनाएको छ। यस प्रणालीको विस्तारले बैंकिङ सेवा उपयोगमा भौगोलिक दूरीको अवरोध हटाउँदै डिजिटल कारोबारमा सर्वसुलभता ल्याउने विश्वास गरिएको छ। डिजिटल भुक्तानीमा मास्टर कार्ड स्वीकार गर्ने कदमले कुमारी बैंकको सेवागत विविधता र प्रविधिको प्रयोगप्रति देखिएको सक्रियता झल्काएको छ। बैंकले आगामी दिनहरूमा पनि डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउने योजना अनुरूप विभिन्न प्रविधि कम्पनीहरूसँग सहकार्य गर्दै जाने जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *