नेपाली कोदोबाट बनेको बिस्कुट पहिलोपटक अष्ट्रेलिया निर्यात

काठमाडौं । नेपाली मौलिक अन्न ‘कोदो’ बाट बनेको बिस्कुट अब अष्ट्रेलियामा पनि उपलब्ध हुने भएको छ । नेपाली कृषि उद्योगमा क्रियाशील कम्पनी आर्कश फूडले पहिलोपटक कोदो बिस्कुट अष्ट्रेलिया निर्यात गरी एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । अष्ट्रेलियास्थित कृषि फर्म हामा ग्लोबल पीटीवाई लिमिटेडको साझेदारीमा गरिएको निर्यातको उद्देश्य अष्ट्रेलियाका प्रमुख बजार क्षेत्रहरूमा नेपाली उत्पादनलाई स्थापित गर्नु रहेको कम्पनीले जनाएको छ । यससँगै अब अष्ट्रेलियाका विभिन्न सुपरमार्केट तथा विक्रेताबाट कोदो बिस्कुट सहजै किन्न सकिनेछ। कोदो नेपाली समाजमा परम्परागत र स्वास्थ्यवर्द्धक अन्नको रूपमा प्रयोग हुँदै आएको छ । पहिले रोटी र ढिंडो बनाउन प्रयोग हुने कोदो अब आधुनिक जीवनशैलीअनुसार बिस्कुट, पफ र कुकीजको रूपमा पुनःरूपान्तरण गरिएको छ। आर्कस फूडका अनुसार, अष्ट्रेलियामा बढ्दो नेपाली समुदायलाई मातृभूमिको स्वादको झल्को दिलाउने र अष्ट्रेलियाली उपभोक्तालाई पनि प्राकृतिक, स्वस्थकर र उच्च पोषणयुक्त नेपाली खाद्य विकल्प प्रस्तुत गर्ने उद्देश्यले यो कदम चालिएको हो । कम्पनीले आफ्नो उत्पादनमा ‘मेड इन नेपाल’ को नारा मात्र प्रयोग नगरी कच्चा पदार्थसमेत नेपालमै उत्पादन गरिएको हुनुपर्ने मान्यता राखेको छ । उनीहरूले प्रयोग गर्ने कोदो पनि आफ्नै कृषकहरूमार्फतै उत्पादन गरिएको हो । यसले स्थानीय कृषकलाई प्रत्यक्ष फाइदा पुर्‍याउने कम्पनीको विश्वास छ। बजार निरीक्षकका अनुसार, आरम्भमा चिनीयुक्त वा चिनीविनाको विकल्पमा कोदो बिस्कुट प्रस्तुत गरिएको थियो। अहिले कोदो पफ, कुकीज लगायतका उत्पादनमा विस्तार गरिएको छ, जसले उपभोक्तामाझ राम्रो प्रतिक्रिया पाएको छ। अष्ट्रेलियाबाट सकारात्मक प्रतिक्रिया पाएपछि आर्कस फूड अब अमेरिका, बेलायत, जापान, मध्यपूर्वलगायत अन्य देशहरूमा समेत कोदो उत्पादन निर्यात गर्ने तयारीमा छ। कम्पनीले यो अभियानलाई ‘नेपाल देखि विश्वसम्मः स्वस्थ खाना, स्वस्थ जीवन’ भन्ने मूलमन्त्रमा अघि बढाइरहेको जनाएको छ। आर्कश फूडका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्षसमेत हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *