विकास बैंकहरूको नाफा ८ प्रतिशतले वृद्धि, मुक्तिनाथ अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा मन्दगतिको सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार ८ वटा विकास बैंकहरूले यस अवधिमा कुल चार अर्ब ३८ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा करिब ८ प्रतिशतले वृद्धि हो। यसरी मुनाफामा सुधार देखिए पनि वृद्धिदर सुस्त देखिनुले विकासबैंकहरू अझै पनि पूर्णरूपमा सुधारको बाटोमा पुग्न बाँकी रहेको संकेत गर्छ। समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा आर्जन गर्ने विकास बैंकमा मुक्तिनाथ रहेको छ। यो बैंकले वैशाखसम्म ८७ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ९९ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ११.८७ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म गरिमा ८६ करोड ९३ लाख रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७५ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १४.७८ प्रतिशतले घटेको छ। नाफा आर्जनको हिसाबले शाइन रेसुंगा तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष वैशाखसम्म ५८ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म ६१ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ५.४२ प्रतिशतले बढेको छ। यसैगरी वैशाखसम्म कामना सेवाले ५७ करोड ७५ लाख रुपैयाँ, सांग्रिलाले ४९ करोड ८७ लाख रुपैयाँ, महालक्ष्मीले ४६ करोड ३२ लाख रुपैयाँ, ज्योतिले ३६ करोड १४ लाख रुपैयाँ र लुम्बिनीले ११ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कामना सेवाको नाफा ४२.८६ प्रतिशत, सांग्रिलाको ७८.७३ प्रतिशत, महालक्ष्मीको ०.३२ प्रतिशत र ज्योतिको ५६.५६ प्रतिशतले बढेको छ भने लुम्बिनीको ६५.१५ प्रतिशतले घटेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *