अभिभावक भएर बस्नुस्,नेतृत्व हामीलाई दिनुस् : पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् । ११ वर्ष पार्टी अध्यक्ष बनिसकेको र ६ वर्ष प्रधानमन्त्री भइसकेकोले उनले गर्नुपर्ने नयाँ काम केही बाँकी नरहेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । ११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । ६ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले गर्नु पर्ने नयाँ काम केही बाँकी छ जस्तो लाग्दैन,’ पोखरेलले भने । महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले अगाडि भने, ‘अब कमरेड ओलीले यो पार्टीको अभिभावक हुनपर्छ भन्ने ठान्छु । आम रूपमा त्यही परिस्थिति छ । उपाध्यक्ष पोखरेलले नेतृत्वको जिम्मा आफूहरूलाई दिनुपर्ने बताए । अब नेतृत्वको जिम्मा हामीलाई दिनुस् भन्न चाहन्छु । मेरो अवधारणा पढ्नुस् । साथ र समर्थनको अपेक्षा छ । उपाध्यक्ष पोखरेलले यो महाधिवेशनले एकताको महाधिवशेन हो भनेर सन्देश दिनु पर्ने बताए । उनले भने, ‘विगतका महाधिवेशनको स्मरण भइरहेको छ । खासगरी ५औँ महाअधिवेशन । त्यो महाधिवेशनमा जबज प्रस्ताव भएको थियो । त्यो महाधिवेशनले फरक मतको संरक्षण गर्ने कुराको ग्यारेन्टी गरेको थियो, जुन ऐतिहासिक पनि थियो । ५औँ महाधिवेशनले फरक मतलाई स्वीकार्ने कुरा कति महत्त्वपूर्ण रहेछ, आज पनि उत्तिकै महत्त्वपूर्ण रहेछ । उनले अगाडि भने, पार्टी सञ्चालनबारे हामीले पुनर्विचार गर्नु नपर्ने, वाह्य षडयन्त्रलाई जिम्मा लगायो हाम्रो कार्यभार सकियो, ५औँ महाधिवेशनपछि किन पार्टी फुट्यो छलफल भएन । २०७१ सालमा कमरेड केपी वोली निर्वाचत हुनुभयो ।
हामी कुन सन्दर्भ थियो भने कमरेड ओली बिरामी हुनुहुन्थ्यो । हामी कमरेड ओली अध्यक्ष हुनपर्छ भन्न् ठान्थ्यौँ । उहाँले पार्टी जीवनको लोकतान्त्रीकरण र जबज भनेर एउटा किताब लेख्नु भएको छ । त्यसमा किन उमेरहद किन २ कार्यकाल उल्लेख छ । त्यसमा भूराजनीतिक भार लगायतका विषयमा गहन कुराहरू छन् । जुन कमरेडहरूले एकपटक पढ्नुस् भन्न चाहन्छु । १०औँ महाधिवेशन एउटा बाध्यता थियो भन्दै उनले नेकपामा समस्या आयो, तर त्यसबारे आत्मसमीक्षा नभएको बताए । उनले अगाडि भने, अब हामी ११औँ महाधिवेशनको हलमा छौं । गत २२ भदौमा हामी जुन निष्कर्षमा पुगेका थियौँ, त्यो ठाँउमा रहेनछौं । सबै ध्वस्त भयो । वाह्य कारण प्रमुख हो कि आन्तरिक कारण निर्णायक हो यो प्रश्नको निराकारण गर्नैपर्छ । हामीले सबै राम्रै राम्रो गर्यौं भन्दै आए पनि तर असफल किन भयौं भनेर प्रश्न गर्नुपर्ने बेला आएको उनले बताए । उनले भने, हामीसँग राज्य संयन्त्र थियो । के राज्य संयन्त्र निकम्मा हो ? वा हामीबाट कमजोरी भयो ? कमजोरी भयो भन्नेतिर ध्यान दिनै पर्छ । हामीमा पर्याप्त कमजोरी थिए । आफूले अध्यक्षसँग सल्लाह नै गरेरै अवधारणा पेस गरेको उनको भनाइ छ । हाम्रो नीति र बिधीमा समस्या छैन । हाम्रो नीति र व्यवहारमा समस्या रह्यो भन्ने कुरा स्वीकार्नै पर्छ,’ उनले भने ।
















