स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने सरकारको योजना
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संसदमा सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार ल्याउने दीर्घकालीन योजना प्रस्तुत गरेका छन् ।
मन्त्री पौडेलका अनुसार सरकारले पाँच वर्षभित्रमा १२ हजार नयाँ दक्ष स्वास्थ्य जनशक्ति थप्ने योजना बनाएको छ । प्रत्येक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रियाको थालनी भएको पनि उनले बताए । संसदमा मन्त्रालयको बजेट सम्बन्धी छलफलका क्रममा मन्त्री पौडेलले देशका सातै प्रदेशमा विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्ने, जनस्वास्थ्य कार्यक्रमलाई स्थानीय तहसम्म पुर्याउने, स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने लगायतका महत्त्वपूर्ण योजनाहरु प्रस्तुत गरे ।
मन्त्री पौडेलले जलन उपचार, मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर जस्ता विशिष्ट सेवा सातै प्रदेशका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत उपलब्ध हुने व्यवस्था गरिएको जानकारी दिए । यसका लागि नयाँ आर्थिक वर्षको बजेटमा विशेष विनियोजन गरिएको छ । उनले ७३६ स्थानीय तहमा “म स्वास्थ्य, मेरो समुदाय स्वस्थ” कार्यक्रमअन्तर्गत एक (एक जना जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिनेछ । आयुर्वेद, योग, ध्यान र परम्परागत चिकित्सा प्रणाली मार्फत निरोगी जीवनशैली प्रवर्धन गरिनेछ । मानसिक स्वास्थ्य प्रवर्धन, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, र प्रजननसम्बन्धी रोगहरूका लागि स्थानीय तहमा सेवा विस्तार गरिनेछ ।
साथै १४ वर्षमुनिका किशोरीलाई एचपिभी खोप दिइने योजना पनि सार्वजनिक गरिएको छ । निर्माण सम्पन्न भएका आधारभूत अस्पतालहरु श्रावण १ गतेदेखि सञ्चालनमा ल्याइनेछ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा चिकित्सक र औजार उपकरणको व्यवस्था गरिनेछ । निर्माणाधीन अस्पतालहरूको शीघ्र सम्पन्नता र नयाँ अस्पतालको निर्माणका लागि रणनीतिक म्यापिङ भइरहेको जानकारी पनि मन्त्री पौडेलले दिए ।
उनले स्वास्थ्य बीमा बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री पौडेलले प्रविधिको स्तरोन्नति र सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रूपमा स्वास्थ्य बीमामार्फत सञ्चालन गरिने जानकारी दिए ।