जनमुखी साकोस बागमती प्रदेशकै उत्कृष्ट संस्था घोषित
चरिकाटे । दोलखाको वैतेश्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट संस्था बनेको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ(बागमती प्रोस्कून) ले ६ औं स्थापना दिवसको अवसरमा उक्त संस्थालाई प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गर्ने घोषणा गरेको हो । संघले स्थापना दिवसमा घोषणा गरेको पुरस्कार तथा सम्मान आगामी साधारण सभामा प्रदान गर्ने भएको छ । संस्थाले विगत २६ बर्षदेखि ग्रामीण क्षेत्रमा रहेर सहकारीको माध्यमबाट सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा उल्लेख भूमिका खेल्दै आएको छ । सहकारी मार्फत सदस्यहरुमा वित्तीय साक्षरता अभिवद्धि गरी उनीहरुमा स सानो रकम बचत गर्ने वानीको विकास संस्थाले गरेको छ । त्यसका साथै सदस्यहरुलाई उद्यमशीलतामा समेत जोडेर गएको छ । व्यापार व्यवसायका साथै कृषि तथा पशुपालनको क्षेत्रमा ऋण लगानी गरी सदस्यहरुको आयस्तर वृद्धिमा संस्थाको भूमिका महत्वपूर्ण रहेको छ । संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका २१ हजार बढी सदस्यहरुलाई वित्तीय तथा अन्य सेवा प्रदान गर्दै आएको छ । संस्थाका व्यवस्थापक भेष बहादुर मिजारले यो सम्मानले काम गर्न थप हौसला मिलेको बताए । संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर समुदाय केन्द्रीत वित्तीय कारोबार गर्दै आएको उनले जानकारी दिए ।
संस्थाको गत असार मसान्तसम्म १० करोड ७३ लाख शेयर पुँजी,८ करोड ९३ लाख जगेडा कोष, १ अर्ब १० करोड ८८ लाख बचत र १ अर्बको हारहारीमा ऋण लगानी गरेको उनको भनाई छ । संस्थामा १० हजार ८३८ पुरुष र १० हजार ६४३ महिला र ११३ संस्थागत गरी २१ हजार ५९४ सक्रिय सदस्य आवद्ध रहेका छन् । संस्थाको अन्य कोषहरुमा पनि १ करोड ७३ लाख रकम जम्मा भइसकेको छ । संस्थाको गत आ।ब।को असार मसान्तसम्म १ अर्ब ४० करोड १६ लाख कुल सम्पत्ति पुगेको छ । ५ हजार ८११ जना बाल सदस्य संस्थामा जोडिएर नियमित बचत गर्दै आएका छन् । संस्थाले सदस्यहरुलाई मासिक बचत गर्न अभिप्ररित गरेका कारण कुल बचतमा मासिक बचतको हिंसा ४५ प्रतिशत माथि पुगेको उनको भनाई छ । सहकारी मार्फत् सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउन संस्थाले सहुलियत ब्याजदरमा विभिन्न क्षेत्रमा ऋण लगानी गर्दै आएको जनाएको छ । त्यसका साथै सदस्यहरुलाई सहज र सरल रुपमा वित्तीय सेवा प्रदान गर्न संस्थाले मोबाइल बैकिङ्ग, क्यु आर ,फन्ड ट्रान्सफर जस्ता सेवा सञ्चालनमा ल्याएको छ ।