तुइन खोलामा ६० प्रतिशत पहिरो पन्छाइयो
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक पहिरो पन्छाउने कार्य जारी छ । हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाइएको सडक डिभिजन भरतपुरले जनाएको छ । काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवैतर्फबाट कुल पाँचवटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ, सडक डिभिजनले बिहीबार (असोज ९) दिउँसो पौने ३ बजे जारी गरेको सूचनामा उल्लेख छ । पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाका कारण केही कठिनाइ भएको सडक डिभिजनले जनाएको छ ।
पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरूका कारण टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुनेजस्ता समस्याहरूले गर्दा सोचेअनुसारको प्रगति हुन नसकिएकोले हेभी इक्प्युमेन्ट डिभिजन हेटौँडा र डुम्रेबाट दुईजना अपरेटरहरू पनि थप गरिएको छ, सडक डिभिजनले भनेको छ । कुनै बाधा नभए बिहीबारै रातिसम्म सबै पहिरो हटाई सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ । कुनै पनि बाधा आई नपरे निरन्तर रूपमा कार्य गर्न सकिएको खण्डमा सम्भवतः आज रातिसम्ममा पूर्ण रूपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने आकलन गरिएको छ, सडक डिभिजनले भनेको छ । यही असोज ७ गते दिउँसो करिब सवा ३ बजेदेखि उक्त सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।