दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई कांग्रेसको चेतावनी
काठमाडौँ। नेपाली कांग्रेसले भदौ २३–२४ गते भएको हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई चेतावनी दिएको छ। पार्टीको तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको वक्तव्यमा ती दुई दिनमा ७६ जनाभन्दा बढीको ज्यान गएको, सयौं घाइते भएको र राष्ट्रलाई खरबौंको क्षति पुगेको उल्लेख गरेको छ। वक्तव्यमा शान्तिपूर्ण प्रदर्शनको आवरणमा नियोजित रुपमा अपराधिक समूहहरूले देशव्यापी आतंक मच्चाएको र राजनीतिक दल तथा नेताहरूमाथि लक्षित आक्रमण गरेको दाबी गरिएको छ। तर गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्ति र त्यसको आधारमा जारी परिपत्रले प्रमाणित अपराधीहरूलाई कानूनी कारबाही नगरी उन्मुक्ति दिने संकेत गरेको भन्दै कांग्रेसले कडा आपत्ति जनाएको छ। पार्टीले यस्तो कदमले संविधानवाद, कानूनी शासन र विधिको शासनको धज्जी उडाएको आरोप लगाएको छ। कांग्रेसले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन गर्ने नीतिबाट पछि हट्न, घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्न र प्रतिशोधमूलक राजनीति नगर्न आग्रह गरेको छ। वक्तव्यमा भनिएको छ, घटनाको प्रारम्भिक छानबिन सुरु नहुँदै आयोगको हवाला दिँदै नेताहरूको राहदानी रोक्का गर्ने, मुलुकभित्रको आवतजावत प्रतिबन्धित गर्ने जस्ता कार्यहरू स्पष्ट राजनीतिक प्रतिशोधका उदाहरण हुन्।
