बीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुन्छ : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने बताएका छन् । बाढीले क्षतिग्रस्त राजमार्गको अवलोकन गर्दै घिसिङले पूर्वी नेपाल र तराईलाई काठमाडौंसँग जोड्ने छोटो सडकको रूपमा रहेको बीपी राजमार्गलाई जति सक्यो छिटो पुनर्निर्माण गर्न तयारी अघि बढिसकेको जानकारी दिए । उनले गत वर्षको असोजमा रोशी खोलाको बाढीले क्षति पुर्याएको सडक खण्ड पुनर्निर्माणको लागि अहिले ठेक्काका कामहरू भइरहेको पनि बताए । नेपाल सरकारले गर्नुपर्ने कामको टेन्डर भइसकेको छ भने जाइकाको सहयोगमा निर्माण हुने साढे दुई किलोमिटरको टेन्डर हुने क्रममा रहेको छ ।
दसैँतिहारपछि काम तीव्र गतिमा सुरू गर्ने गरी तयारी भइरहेको छ । छिटोभन्दा छिटो काम गरेर सडकलाई पहिलेकै अवस्थामा ल्याउन सबै खालका सहयोग र समन्वयका काम गरिरहेका छौँ, मन्त्री घिसिङले भने । दसैँलगत्तै बाहिरी जिल्लाबाट काठमाडौं फर्कने गाडीको संख्या निकै धेरै हुने भएकाले उक्त समयमा जाम नहोस् भनेर उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको उने बताए । यस्तै, अबको केही दिनपछि नेपालमा भारी वर्षाको पूर्वानुमान भएकाले सुरक्षित हिसाबले यात्रा गर्न मन्त्री घिसिङले आग्रह गरे । असोजको १७, १८ र १९ गते विभिन्न जिल्लामा भारी वर्षा हुने पुर्वानुमान छ, यसबाट बीपी राजमार्ग र नारायणगढ–मुग्लिन तथा नारायणगढ–बुटवल सडक खण्डमा जोखिम रहेको भन्ने कुरा आएको छ । म सबै चालकहरूलाई सतर्कताका साथ गाडी चलाउन र यात्रुलाई पनि हतार नगरी, आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्दछु ।