सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा
काठमाडैं । सिद्धार्थ बैंकले कुल १०.५३ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ । बैंकले आर्थिक वर्ष २०८१।८२ मा तीन अर्ब ३६ करोड खुद नाफा आर्जन गरेको छ । यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा २८ करोड रुपैयाँ ९.३० प्रतिशतको वृद्धि हो ।
यसैगरी, बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ८३ करोड कायम रहन आएको छ । खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केही संकुचन आएको देखिन्छ जसको मुख्यकारण बैंकले आर्थिक वर्ष २०८१।८२ को खुद मुनाफाबाट एक अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पुँजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो । यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भएपछि सेयरधनीलाई नै वितरण गरिन्छ । उक्त विनियोजित रकम तीन अर्ब ४६ करोड समेत गणना गर्दाको अवस्थामा बैंकको वास्तविक वितरणयोग्य मुनाफा तीन अर्ब २९ करोड रुपैयाँ कायम हुन आउँछ, जुन प्रतिशतको हिसाबमा हेर्दा २३.४१ प्रतिशतको प्रतिफल हो ।