ओलीले गरे तेस्रोपटक अध्यक्ष बन्ने घोषणा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनबाट पनि आफू नै अध्यक्ष बन्ने घोषणा गरेका छन् । म अध्यक्ष छु । म उमेदवार नै किन हुनुपर्यो ? अरू कोही उमेदवार हुँदैन,” अन्तर्वार्ताका क्रममा ओलीले भने, म निर्विरोध हुन्छु भन्ने विश्वास छ । मेरो इतिहासले, कामले, योगदानले सबै हिसाबले अर्को प्रतिस्पर्धी हुन्छ भन्ने लाग्दैन । उनले अन्य परिस्थिति कायम रहे आफूलाई अध्यक्षमा निरन्तर देखिने विश्वास व्यक्त गरे । महाधिवेशनपछि फेरि एमाले अध्यक्षकै रूपमा देख्न सकिन्छ भन्ने प्रश्नमा ओलीले भने, “परिस्थिति यथावत् रहेमा, त्यसको विकल्प म देख्दिनँ ।” उनले आफूबिनाको एमाले भन्ने नारा पुरानै भएको र त्यस्तै आवाज यतिखेर पनि सुनिएको बताए । विरोधीहरूले त अध्यक्षमा देख्न नचाहेकै हुन् । ओलीबिनाको एमाले भन्ने नारा आजको होइन । त्यस्तो प्रयास पनि भएको छ,” ओलीले भने । ओलीले सेन्टिमेन्टल कुराले आन्दोलन नचल्ने दाबीसमेत गरे । बाहिर आएजस्तो नयाँ पुस्ताले सबैथोक गर्न नसक्ने उनको भनाइ थियो । जेनजीले चलाउनुपर्यो भन्ने खालका भावनात्मक कुराहरू सुनिन्छन्,” अध्यक्ष ओलीले भने, “यस्ता कुराले आन्दोलन चल्दैन । आन्दोलन भनेको गम्भीर, परिपक्व विषय हो ।” अध्यक्षमा उमेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका असन्तुष्टिबारे केही दिनमा कुरा गर्ने ओलीको भनाइ छ । तर, यसअघि गर्ने भनेको छलफलको औचित्य भने सार्वजनिक वक्तव्य र अवधारणापत्रले घटाइसकेको उनको भनाइ छ । केही कुरामा असन्तुष्टि होलान् । एकदुई दिनमा हामी फेरि बस्छौं । मैले साथीहरूलाई नेतृत्व कसरी निर्माण गर्ने, के जिम्मेवारी लिने छलफल गरौंला, सहमतिका साथ जाऔंला भनेको थिएँ । उनले थपे, “साथीहरूले धेरै ताउरमाउर गर्नुभएको छ । घोषणा गर्नुभयो । अनेक प्रकारका अन्तर्वार्ता दिनुभयो । समूहबन्दी गर्नुभयो, कहिले महिला खुले भनेर दुईचारजना राखेर तमासा गर्नुहुन्छ । कहिले अवधारणापत्र भन्नुहुन्छ । सबै के हो, म एकदुई दिनमा बुझ्छु । साथै, ओलीले पार्टीमा पदाधिकारीको संख्या बढाउने कुरा केही समयअघि पोखरेलसहितका नेताहरूकै भएको दाबी गरे । उनले पार्टीमा पदाधिकारीको संख्या नबढ्ने सुनाए । मंसिर २८ गते पदाधिकारी घोषणा गर्ने भनाइ ओलीको छ । पदाधिकारीको संख्या बढ्दैन । २८ बिहान मैले पदाधिकारी घोषणा गर्छु,” उनले भने । ओलीले सहमति नभएमा मात्रै चुनावमा जाने संकेत गरे । ओली नवौँ र १०औँ महाविधेशनबाट अध्यक्ष बनेका थिए । उनी तेस्रोपटक अध्यक्ष बन्ने दाबी गरिरहेका छन् । मंसिर २७–२९ मा एमालेको ११औँ महाधिवेशन हुँदै छ ।















