म्यानमारको स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएका ४७ नेपाली बैंककबाट नेपाल फर्कंदै

काठमाडौं । म्यानमारको स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएका ४७ जना नेपालीहरू आज बुधबार बैंककबाट नेपाल फर्कंदै छन् । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरी नेपाल फर्काएको हो । बैंककस्थित नेपाली दूतावासका अनुसार विभिन्न प्रलोभनमा पारी म्यानमार पुर्‍याई उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा विभिन्न अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगीलगायतका काममा लगाइएको थियो । यसरी ठगी कार्यमा लगाइएका ४७ जना नेपालीलाई नेपाली दूतावासले थाइल्यान्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार गरी बुधबार नेपाल एयरलाइन्सको उडान नं। आरए ४०२ मार्फत नेपाल फर्काइएको हो । “उद्धार गरिएका व्यक्तिहरूमध्ये विभिन्न २६ जिल्लाका ४७ जना रहेका छन्, जसमा ४५ जना पुरुष तथा २ जना महिला छन्, बैंककस्थित नेपाली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । उद्धार गरिएकामध्ये चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुम जिल्लाका १र१ जना, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँ जिल्लाका २र२ जना छन् ।

त्यस्तै, उद्धार गरिएकामा धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुर जिल्लाका ३र३ जना र झापा जिल्लाका ५ जना रहेका छन् । निजहरूको उमेर समूहमा एक जना १७ वर्षको, २० वर्ष देखि २५ वर्ष उमेर समूहका २६ जना, २६ वर्ष देखि ३० वर्षको उमेर समूहका १० जना, ३१ देखि ३५ वर्ष उमेर समूहका ८ जना, ४० वर्षको एकजना र ४१ वर्षको एकजना रहेका छन् । निजहरूको शैक्षिक योग्यता प्राय १०ं२ पास गरेका, सूचना प्रविधिसम्बन्धी अध्ययन गरेका रहेका छन्, दूतावासले भनेको छ । दूतावासले उद्धार गरी नेपाल फर्काएकाहरू स्क्यामिङ केन्द्रहरूमा दुई महिनादेखि १८ महिनासम्म आवद्ध भएको पाइएको छ । उद्धार गरिएका व्यक्तिहरूको भनाइअनुसार उनीहरू विभिन्न व्यक्ति, साथीभाई तथा अनलाइन साथी, पवजीलगायतको अनलाइन गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापन आदिबाट सम्पर्क गरी तहाँ पुगेको देखिएको दूतावासले जनाएको छ । कुनै कुनै भारतमा अध्ययन गर्दाको साथीमार्फत, कुनै दुबईमा अध्ययन गर्दा तथा काम गर्दा चिनजान भएको साथीमार्फत समेत म्यानमार पुगेको विज्ञप्तिमा उल्लेख छ । ह्वाट्सएप, भाइवर, मेसेन्जर, टिकटक, टेलिग्रामलगायतका सामाजिक सञ्जालबाट काठमाडौंमा घण्टाको यति कमाइन्छ भनी रोजगारीको प्रस्ताव आउने, त्यसमा रेस्पोन्स गरेपछि थप सम्पर्क हुँदै जाने र केही समयपछि भ्रमणको लागि आकर्षित मानिने मुलुकमा अफिस, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसिप्सनिष्ट आदिको काम छ, एक लाखभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पार्ने गरेको देखिएको छ, विज्ञप्तिमा भनीएको छ । यसरी प्रलोभनमा पारेपछि विभिन्न माध्यमबाट स्क्यामिङ केन्द्रहरूमा पुर्‍याउने गरेको पाइएको दूतावासको भनाइ छ ।

“स्क्यामिङ केन्द्रहरूमा पुगेपछि निजहरूलाई केही महिनासम्म आरामदायी किसिमले काम लगाउने, केही समय व्यतित भएपछि कामको निश्चित लक्ष्य दिइने र सो पूरा गर्न नसके अन्य कुनै अपराधको दोष लगाई चरम आर्थिक तथा शारीरिक शोषण गर्ने, निजहरूलाई बन्धक बनाई परिवारबाट फिरौती माग गर्ने, जेल पठाउने, हत्या गर्ने लगायतका यातना समेत भोग्ने गरेको देखिएको छ,” दूतावासको विज्ञप्तिमा उल्लेख छ । उनीहरू स्क्यामिङ केन्द्रबाट निस्किन खोजे उनीहरूको सट्टामा अर्को व्यक्तिलाई नल्याएसम्म सो स्थानबाट छुटकारा समेत नगराउने देखिएको दूतावासले जनाएको छ । दूतावासले रोजगारीको प्रलोभनमा परी कम्बोडिया, थाइल्यान्ड, म्यान्मार, लाओसमा नजान अनुरोध गरेको छ । बैंककस्थित नेपाली दूतावासले यसरी उद्धार गरी आर्थिक वर्ष २०८०।८१ मा ६८ जना, २०८१।८२ मा १५६ जना र चालु आर्थिक वर्षमा हालसम्म सम्म १४१ जना नेपाल पठाएको छ । म्यान्मारको म्यावाडीमा रहेका विदेशी नागरिकको स्वदेश फिर्तीलाई सहज बनाउनको लागि थाइल्यान्ड सरकारले एउटा कार्यसञ्चालन निर्देशिका बनाएको छ । सोही कार्यसञ्चालन निर्देशिकाको पालना गरी नेपाली नागरिकहरूको उद्धार गरिएको दूतावासले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *