नयाँ बसपार्कमा यात्रुलाई जथाभावी दुःख दिने ४६ जना पक्राउ
काठमाडौं । नयाँ बसपार्कमा यात्रुको जथाभावी झोला तानेर दुःख, हैरानी दिने ४६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने तथा शंकास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई बुधबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले देशका विभिन्न भागबाट राजधानी काठमाडौं आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख–हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले आज मात्र ४६ जनालाई नियन्त्रणमा लिएको छ । सुरुको समयमा सम्झाइबुझाइ गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कडा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ । प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने बताए ।















