जनमुखी सहकारी बागमती प्रदेशकै उत्कृष्ट साकोसको रूपमा सम्मानित

चरिकोट । दोलखाको बैतेश्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले पाँचौ साधारण सभाको अवसरमा उक्त संस्थालाई सम्मान गरेको हो । समुदायमा आधारित, सदस्य–केन्द्रीत, सुरक्षित र व्यवस्थित रूपमा प्रचलित कानुन बमोजिम आफ्नो वित्तीय करोबारका साथै विभिन्न क्रियाकलापहरु सञ्चालन गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक सशक्तिकरणमा योगदान गरेको भन्दै संस्थालाई सम्मान गरिएको प्रोस्कूनले जनाएको छ । संस्थाले आगामी दिनमा पनि प्रदेशको सहकारी अभियानलाई उचाइ दिन महत्वपूर्ण भूमिका निर्वाह खेल्ने अपेक्षा प्रोस्कूनले गरेको छ ।

सभाका अध्यक्ष उद्धव सापकोटाले संस्थाका अध्यक्ष माधव दाहाल र व्यवस्थापक भेष मिजारलाई उक्त सम्मान प्रदान गरेका थिए । सहकारी भनेकै सदस्यहरुको लागि भएकाले संस्थाले बाल बचतकर्तादेखि जेष्ठ सदस्यहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सदस्य विमा कार्यक्रम, जटिल रोग उपचारका लागि सहयोग,जीवनवृती भत्ता,अपाङ्ग सदस्य भत्ता,मृत्यु संस्कार सहयोग,पारिवारिक सुरक्षा योजना,दैवी विपत्ती राहत,सुत्केरी महिला शिशु स्याहार,जेष्ठ सदस्य सम्मान र विद्यार्थीहरुलाई छात्रवृति कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थामा गत कातिकसम्म २१ हजार ९ सय सदस्य आवद्ध रहेका छन् । संस्थाको शेयर पुँजी १० करोड ४८ लाख, जगेडा कोष ९ करोड ७ लाख,बचत संकलन १ अर्ब १० करोड ८३ लाख, ऋण लगानी १ अर्ब १ करोड २६ लाख गरी कुल सम्पत्ति १ अर्ब ३७ करोड ६५ लाख पुगेको छ । संस्थालाई आजको उचाइमा पुर्‍याउन प्रत्यक्ष वा परोक्ष रूपमा साथ, सहयोग, मार्गदर्शन र प्रेरणा प्रदान गर्ने संस्थापक, शेयर सदस्य, वर्तमान तथा पूर्व सञ्चालकहरू, सहकारीकर्मी, समर्पित कर्मचारीप्रति संस्थाले आभार व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *