एमालेको नयाँ नेतृत्व चुन्‍न आज मतदान

काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आज मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । मतदान विद्युतीय मेसिनमार्फत् हुनेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । मतदानपछि भृकुटीमण्डपमै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । मतपरिणाम घोषणा, प्रमाणपत्र प्रदान र शपथ ग्रहण पनि सोही ठाउँमै हुने एमालेले जनाएको छ ।
यी भए निर्विरोध निर्वाचित
एमालेको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदसहित १४ जना निर्विरोध निर्वाचित भइसकेका छन् । अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, उपाध्पक्ष चक्रबहादुर पराजुली र सचिव राजेन्द्र घिमिरे निर्विरोध भएका छन् । लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध भएका छन् । केन्द्रीय सदस्यहरुमा युवा खुलामा नरेश रोकाय, सुशील थापा, मधेशी युवामा अमरकुमार यादव, मुस्लिम महिलामा खाजिदा खातुन सिद्दिकी, श्रमिक महिलामा कमलादेवी तामाङ र सिता लामा निर्वाचित भएका छन् । पछडिएको महिलामा बदमी क्वाँरी बुढा (बोहरा) र प्रवाश दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *