बहिनीको बिहेका लागि जसले उत्खनन् गरे हीरा
‘एक दाजुले आफ्नी बहिनीको लागि के–के गर्न सक्छ ?’ मध्य प्रदेशको पन्ना जिल्लामा बस्ने दुई साथीहरु– साजिद मोहम्मद र सतीश खतिकको कथा यही प्रश्नबाट शुरू हुन्छ। डिसेम्बर ९ को चिसो बिहान, पन्नाको डायमण्ड कार्यालयमा त्यति भीड थिएन । तर कागजका धेरै तहमा बेरिएको एउटा सानो प्याकेट हातमा लिएर उभिएका साजिद र सतीशका लागि त्यो साधारण दिन थिएन । त्यो प्याकेटभित्र १५.३४ क्यारेटको हीरा थियो। यो हीरासँगै, उनीहरूले त्यो आशालाई वास्तविकतामा परिणत गरेका थिए, जुन धेरै पन्नावासीले देख्छन् तर कमले मात्र प्राप्त गर्छन् । बीबीसीसँगको कुराकानीमा साजिद भन्छन्, ‘हीरा भेटिनासाथ तुरुन्तै चिनिन्छ । बिल्कुलै चम्किलो । शरीर तरंगित हुन्छ कि हो, यो नै हीरा हो ।’ पन्ना डायमण्ड कार्यालयका सरकारी हीरा परीक्षक अनुपम सिंहले पुष्टि गरे, ‘सतीश खतिक र साजिद मोहम्मदले १५.३४ क्यारेटको हीरा पाएका छन् । खानी सतीशको नाममा थियो तर दुवैले मिलेर यो हीरा खोजेका हुन् ।’ हीरा भेटिएको क्षण सम्झँदै सतीश भन्छन्, ‘अविश्वसनीय थियो कि हामी यति छिट्टै यति ठूलो रकमको मालिक बन्नेछौं । अब बहिनीहरूको विवाह राम्रोसँग गर्न सक्नेछौं ।’ भारतको बुंदेलखंड क्षेत्रमा पर्ने पन्नालाई ‘डायमण्ड सिटी’ भनिन्छ । तर यो पहिचानको पछाडि गरिबी, पानीको कमी र रोजगारीको अभावको लामो कथा छ । यहाँ जमिन खन्नु केवल रोजगारी मात्र होइन, आशा र अनिश्चितताबीच लिइएको निर्णय हो । साजिद र सतीशले पनि हीरा पाउने चाहनामा यही बाटो अपनाएका थिए । धेरै मानिसहरूको जीवन पन्नामा हीरा खोज्दै बित्छ, तर यी दुई बाल्यकालका साथीहरूलाई केवल २० दिनमै सफलता मिल्यो। पन्नाको रानीगञ्ज क्षेत्रमा बस्ने यी दुईको जीवन धेरै हदसम्म मिल्दोजुल्दो छ । दुवैको अघिल्ला धेरै पुस्ताको जीवन हीरा खोज्नमै बितेको छ । सतीश सानो मासुको पसल चलाउँछन्। साजिदको परिवार फलफूल बेचेर गुजारा चलाउँछ । सीमित आम्दानी भएका यी दुई परिवारमा दिदी–बहिनीहरूको विवाह खर्च लामो समयदेखि चिन्ताको विषय थियो ।साजिद भन्छन्, ‘हाम्रो बुबा र हजुरबुबाले पनि वर्षौँ जमिन खन्नुभयो, तर कहिल्यै हीरा पाउनु भएन ।’ सतीशको परिवारको कथा पनि त्यस्तै छ । तर मानिसहरू हरेक पटक फरुवा उठाउँदा सोच्दछन् कि सायद यस पटक भाग्य बदलिन्छ । घरको बढ्दो खर्च र बहिनीहरूको विवाहको चिन्ताले गर्दा, दुबै साथीहरूले नोभेम्बर महिनामा हीरा खोज्ने निर्णय गरे । सयौं परिवार पुस्तादेखि संघर्ष गरिरहेको यस क्षेत्रमा, २० दिनभित्र उनीहरूको चर्चा सबैतिर फैलियो । पन्नामा मझगाँव हीरा खानी नेशनल मिनरल डेभलपमेन्ट कर्पोरेशनले सञ्चालन गर्छ । यसबाहेक, पन्नामा कुनै पनि व्यक्तिले राज्य सरकारबाट ८ ८ मिटरको भूभाग वार्षिक २०० रुपैयाँ शुल्क तिरेर कानूनी रूपमा एक वर्षसम्म हीरा खन्न सक्छ । तर हीरा भटिने ग्यारेन्टी भने हुँदैन । साजिद र सतीशले पनि भाडामा जग्गा लिएर खन्न सुरु गरे । करिब बीस दिनको मिहिनेतपछि, डिसेम्बर ८ को बिहान उनीहरूले जीवनको दिशा बदल्ने क्षमता राख्ने त्यो पत्थर भेटे । पन्ना हीरा कार्यालयमा परीक्षण गर्दा, यसको वजन १५।३४ क्यारेट र गुणस्तर जेम–गुणस्तरको पाइयो । हीरा परीक्षक अनुपम सिंहका अनुसार, ‘हीराको सही मूल्य बताउन गाह्रो छ किनभने यो अन्तर्राष्ट्रिय बजार दरमा निर्भर हुन्छ । तर वर्तमान अनुमान अनुसार यसको मूल्य ५० देखि ६० लाख रुपैयाँको बीचमा हुन सक्छ।’ पन्नामा अहिलेसम्मको सबैभन्दा महँगो हीरा २०१७–१८ मा मोतीलाल प्रजापतिलाई फेला परेको थियो, जसको वजन ४२.५८ क्यारेट थियो र लिलामीमा साढे दुई करोड रुपैयाँभन्दा बढीमा बिकेको थियो। हीरा प्रायः लिलामीमा बेचिन्छ । लिलामीबाट प्राप्त कुल रकमको १२ प्रतिशत सरकारले राख्छ, बाँकी रकम हीरा खोज्ने व्यक्तिलाई प्राप्त हुन्छ।साजिद र सतीश भन्छन्, ‘यो रकम कल्पनाभन्दा पर छ किनभने हाम्रो मासिक आम्दानी केही हजार रुपैयाँभन्दा बढी छैन ।’ साजिदकी दिदी सबा बानो खुसी हुँदै भन्छिन्, ‘हाम्रो बुबा र हजुरबुबालाई कहिल्यै यो सफलता प्राप्त भएको थिएन । मेरा दाइ सतीशले हाम्रो विवाह खर्च बेहोर्ने बताएका छन् । अहिले हाम्रो पूरा परिवार खुसी छ।’ सतीश भन्छन्, ‘हीरा भेटिने रात निद्रा लागेन । सपनामा पैसाभन्दा बढी सुरक्षित भविष्य थियो– बहिनीहरूको विवाह, घर र थोरै स्थिरता।’ पन्नामा हीरा खोज्ने काम आशा र निराशाबीचको यात्रा हो । धेरै खाली हात फर्कन्छन्, तर जब कसैले हीरा भेटाउँछ, त्यसको चमक केवल एउटा परिवारमा सीमित हुँदैनस सम्पूर्ण क्षेत्रमा आशाको सञ्चार हुन्छ कि सायद अब हीरा भेटाउने पालो मेरो हो।














