गौरीबहादुर नेतृत्वको जाँचबुझ आयोगको म्याद दोस्रो पटक थपिँदै

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद दोस्रो पटक थप्ने तयारी भएको छ । आयोग गठन गर्दा सुरुमा ३ महिनाको समय दिएर घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार पार्न भनिएको थियो । तर उक्त समयमा आयोगले काम नसकेपछि एक महिना म्याद थप गरिएको थियो । थपिएको म्याद पनि यही माघ ८ गते बिहीबार सकिँदै छ । ‘प्रतिवेदन लेखनको काम सकिएको छैन । प्रतिवेदन लेखनका लागि अझै १५, २० दिन लाग्न सक्छ’, आयोगका प्रवक्ता विज्ञानराज शर्माले रातोपाटीसँग भने, ‘म्याद थप्ने,नथप्ने सरकारको निर्णयमा भर पर्छ ।’ प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अध्यक्ष कार्कीले यसबारे प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर काम नसकिएकाले आयोगले गरेका काम र बाँकी कामबारे जानकारी गराएका थिए । आयोग अध्यक्ष कार्कीको आग्रहलाई प्रधानमन्त्री कार्कीले भने कुनै जवाफ दिइसकेकी छैनन् । ‘अध्यक्ष कार्कीको कुरा प्रधानमन्त्रीले सुन्नु भएको छ तर कुनै जवाफ दिइसकेको जानकारी छैन’, प्रधानमन्त्री कार्कीको सचिवालयका एक सदस्यले भने– ‘सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल गरेर निर्णय आउन सक्छ ।’

आयोगले भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धितहरूको बयान सकेर प्रतिवेदन लेखनको काम ८० प्रतिशत जति सकेको बताइएको छ । गत असोज ८ गतेदेखि काम थालेको आयोगले तोकिएको तीन महिना सकिएपछि पुसमा एक महिना थपिएको थियो । बढाइएको अवधिमा पनि काम नसकिएको भन्दै आयोगले अरू १५,२० दिन म्याद बढाउन आग्रह गरेको हो । पछिल्लो पटक थप गरिएको समय ८ माघ (बिहीबार) सकिँदैछ । यसबिचमा आयोगले पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सुरक्षा प्रमुखहरु, मुख्यसचिव, सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरका तत्कालीन प्रमुख, विभिन्न जिल्लामा त्यसबेला सुरक्षामा खटिएका कमान्डर र जेनजी अभियन्ताहरुसँग समेत बयान लिएको थियो । भदौ २३ को घटनामा राज्य पक्षबाट र २४ मा प्रदर्शनकारीबाट विध्वंस मच्चाइएको थियो । दुई दिनको उक्त घटनामा मुलुकमा ठुलो धनजनको क्षति भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *