बंगलामुखी साकोस सहकारी प्राधिकरण,कर्जा सूचना केन्द्रमा समेत आवद्ध
भक्तपुर । सूर्यविनायमक नगरपालिका वडा नं.२ बसिडोलमा मुख्य कार्यालय रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध भएको छ। सहकारी प्राधिरकणबात ‘संस्था सञ्चालन इजाजतपत्र’ लिएपछि कर्जा सूचना केन्द्रमा समेत आवद्ध भई सदस्यता लिएको संस्थाले जनाएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्था सञ्चालन इजाजतपत्र जारी गरेको इजाजतपत्रमा जनाएको छ । संस्थाको इजाजतपत्र नं. २०६४–००२२२ रहेको छ । बागमती प्रदेश, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र भक्तपुर र ललितपुर जिल्लाका साथै काठमाडौं महानगरपालिका रहेको छ ।
त्यसैगरी संस्थाले सूचना केन्द्रबाट सदस्यता लिएको र अन्य बैंक तथा वित्तीय संस्था तथा अन्य सहकारी संस्था सरह बंगलामुखी सहकारीलाई पनि कर्जा सूचना सम्बन्धी सम्पूर्ण सेवाहरु उक्त कार्यालयले दिने भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठका अनुसार यस आर्थिक बर्षको पौष मसान्तसम्म संस्थाको कुल सम्पत्ति १ अर्ब ५३ करोड २२ लाख रहेको छ । संस्थाको शेयर पुँजी १४ करोड ३५ लाख,जगेडा कोष ४ करोड ७ लाख, बचत संकलन १ अर्ब २२ करोड ३० लाख र ऋण लगानी १ अर्ब ८ करोड १४ लाख रहेको छ । संस्थामा ३ हजार ७१६ सदस्य आवद्ध रहेका छन् भने ५०२ जनाले संस्थाबाट ऋण सुविधा लिएका छन् । संस्थागत पुँजी ४ करोड ५७ लाख ६४ हजार रहेको संस्थाको अन्य कोषहरुमा ४ करोड २८ लाख ९७ हजार रकम पुगेको छ ।
















