हाम्रो साकोस २८औँ वर्षमा, सदस्यको बचतदेखि जीवनस्तर सुरक्षित गर्ने प्रतिवद्धता

ललितपुर। सदस्यलाई सुरक्षित, सरल र दीर्घकालीन वित्तीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड २८औँ वर्षमा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै “गर्भदेखि स्वर्गसम्म” का सदस्य हितमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाले ७४०० भन्दा बढी सदस्यलाई बचत, ऋण, बीमा, शिक्षा, सीप विकास तथा सामाजिक सुरक्षाका सेवाहरू प्रदान गर्दै आएको छ। २०५५ साल फागुन १३ गते २९ जना सदस्य र २ लाख ४५ हजार रुपैयाँबाट कारोबार सुरु गरेको संस्थाले हाल १३ करोड ६० लाख रुपैयाँ शेयर पूँजी, १६ करोड संस्थागत पूँजी, १३७ करोड बचत संकलन, ११७ करोड ऋण लगानी र २८ प्रतिशत तरलता कायम गर्न सफल भएको छ। चार वटा सहकारी संस्था एकीकरणपछि संस्थाको वित्तीय क्षमता र सेवा विस्तार अझ मजबुत बनेको छ। स्थापना दिवसको अवसरमा जारी शुभकामना सन्देशमा संस्थाका अध्यक्ष श्यामकृष्ण घिमिरेले सदस्यको विश्वास नै संस्थाको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै विपन्न, न्यून आय भएका तथा विपद्‌बाट प्रभावित सदस्यका लागि आवास र व्यवसाय पुनर्स्थापनामा केन्द्रित केयर कार्यक्रममार्फत सुलभ ऋण र सीपमूलक तालिम प्रदान गरिएको जानकारी गराए । संस्थाले सदस्य बीमा, सदस्य तथा उनका छोराछोरीका लागि शैक्षिक सम्मान, ज्येष्ठ सदस्य तीर्थाटन तथा सम्मान, वार्षिक रक्तदान, सहकारी शिक्षा तथा वित्तीय साक्षरता, युवा नेतृत्व विकास, करिअर परामर्श र प्रविधिमैत्री कार्यक्रमहरू सञ्चालन गर्दै सदस्य र समुदायसँग नियमित अन्तरक्रिया गरिरहेको छ। विनाशकारी भूकम्प, कोभिड–१९ जस्ता कठिन परिस्थितिमा पनि सेवा अवरुद्ध नगरी निरन्तरता दिएकाले सदस्यमा संस्थाप्रतिको भरोसा अझ बलियो बनेको अध्यक्ष घिमिरेको भनाइ छ। परिवर्तित सहकारी ऐन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै सुशासन, पारदर्शिता र दिगो विकासमार्फत सदस्यको बचत र लगानी सुरक्षित गर्ने प्रतिबद्धता उनले जनाएका छन् र संस्थाको यात्रामा साथ दिने सम्पूर्ण सदस्य, कर्मचारी, समितिका पदाधिकारी, सल्लाहकार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै अध्यक्ष घिमिरेले आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको अपेक्षा जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *