सभामुखले रुलिङ गरेर प्रधानमन्त्रीलाई बोलाउनुपर्‍यो – कांग्रेस

काठमाडौं । प्रधानमन्त्री बालेन साहलाई प्रतिनिधिसभा बैठकमा बोलाउन नेपाली कांग्रेसले माग गरेको छ । प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखको रुलिङ मागेका हुन् । ‘हजुर हाम्रो नायक पनि हो । तपाईंले सभाको इज्जत राख्न सक्नु भएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन,’ राईले भने, ‘त्यसैले सभामुख मार्फत तत्काल सम्माननीय ज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।’

सरकारकै नीति तथा कार्यक्रम माथि छलफल भइरहेकाले प्रधानमन्त्रीको उपस्थिति यसअघि पनि माग राखिएको उनले सम्झिए । तर आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको बैठकमा पनि प्रधानमन्त्रीको अनुपस्थितिप्रति उनले असन्तुष्टि जनाए । ‘हिजो बसेको प्रतिनिधिसभा बैठकमा हाम्रो दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता चासो राख्दै सदनमार्फत समस्त नेपाली नागरिकलाई जानकारी गराउन माग गर्नुभयो,’ राईले भने, ‘प्रधानमन्त्रीको उपस्थिति खोज्नुभयो । तर आज पनि अवस्था उस्तै छ । सदनमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *