शुभकामना साकोसले सार्वजनिक गर्यो स्थापना दिवसको कार्यक्रम, सदस्य सम्मानदेखि स्वास्थ्य शिविरसम्म
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने भएको छ । संस्थाले २६ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रममको आयोजना गरी स्थापना दिवस मनाउने भएको हो । संस्थाका अनुसार स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य तिर्थ भ्रमण, वृहत स्वास्थ्य शिविर,वातावरण सम्बन्धी अभिमूखिरकण कार्यक्रम, रक्तदान र असल ऋणी सम्मान गरी स्थापना दिवस मनाउन लागेको हो । संस्थाले जेठ १७ गते जेष्ठ सदस्यलाई श्वेत वाराही, गोदावरीमा तिर्थ भ्रमण गराउने भएको छ भने जेठ १८ गते संस्थाको ब्यासी सेवा केन्द्रमा वृहत स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ । काठमाडौं मेडिकल कलेज अस्पताल दुवाकोटसँगको सहकार्यमा वृहत स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो ।
स्वास्थ्य शिविरमा जनरल मेडिसिन,स्त्री रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान घाँटी,आँखा रोग सेवा, दन्त रोग सेवा, ईं।सी।जी। सेवा, बाल रोग, भिडियो एक्सरे र ल्याव टेष्ट सेवा उपलब्ध हुने छ । संस्थाले सदस्यहरुलाई लक्षित गरी स्वास्थ्य शिविर गर्न लागेको जनाएको छ । संस्थाले प्रकाशित गरेको बैशाख महिनासम्मको वित्तीय अनुसार शेयर पुँजी ११ करोड ९० लाख ६० हजार, जगेडा कोष १७ करोड ३९ लाख १० हजार, संस्थागत पुँजी १७ करोड ५३ लाख,२३ हजार र कुल बचत १ अर्ब ४७ करोड ६१ लाख रहेको छ । संस्थाले त्यस अवधिमा १ अर्ब १९ करोड ९४ लाख ऋण लगानी गरेको छ भने कुल सम्पत्ति १ अर्ब ८९ करोड ९९ लाख पुगेको छ । संस्थामा १० हजार १८३ सदस्य र १ हजार २६२ बाल सदस्य रहेका छन् । सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालित उक्त संस्थाले सदस्यको आर्थिक सामाजिक रुपान्तरणसँगै सामाजिक कार्य समेत उल्लेख भूमिका खेल्दै आएको छ ।
















