ज्योति विकास बैंकको १८औं वार्षिकोत्सव सम्पन्न,निःशुल्क आँखादान शल्यक्रियामा सहयोगको लागि सम्झौता
काठमाण्डौं । ज्योति विकास बैंकले स्थापनाको १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ। सहज पहुँचसहितको बृहत वित्तीय सेवा तथा वित्तीय सूचना प्रवाहमार्फत समस्त नागरिकको जीवनमा सार्थक र दिगो समृद्धि ल्याउने मूल उद्देश्यका साथ वि.सं. २०६५ साल श्रावण ०९ गते स्थापना भएको यस विकास बैंकले गौरवमय १८ वर्षको यात्रा पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ। बैंकको केन्द्रीय कार्यालयको परिसरमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गर्नुभएको थियो। उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व अध्यक्षहरु, भूतपूर्व सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरि औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) का निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विभिन्न प्रभावकारी कार्यक्रमहरूको घोषणा तथा सम्बन्धित संस्थाहरूसँग सम्झौता गरेको छ। बैंकले तिलगंगा इन्सटिच्युट अफ अफ्थाल्मोलोजीसँगको सहकार्यमा ४० जना विपन्न तथा लक्षित वर्गका व्यक्तिहरुलाई निःशुल्क आँखादान शल्यक्रिया (Corneal Transplantation) मा सहयोगको लागि सम्झौता गरेको छ। यस शल्यक्रिया पश्चात् अन्धकारमय जीवन बिताइरहेका यी नागरिकहरूले फेरि एक पटक संसारको उज्यालो र सुन्दरता आँखाभरि भर्ने छन्, र यो पुनर्जागरण बैंकको सामाजिक उत्तरदायित्वको सबैभन्दा अर्थपूर्ण उपलब्धिमध्ये एक हुनेछ। साथै, राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरूमा १० वटा न्यानो नानी बेबी वार्मर उपकरण जडान गरिनेछ। यी उपकरणहरूले नवजात शिशुहरूको जीवनरक्षा गर्न तथा नवजात शिशुहरुलाई अल्पताप (Hypothermia) को जोखिम बाट सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। यी कार्यक्रमहरूले स्वास्थ्य सेवामा सीमित पहुँच भएका तथा सेवाबाट वञ्चित समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्दै उनीहरूको जीवनमा सकारात्मक र दिगो प्रभाव पार्ने बैंकको विश्वास रहेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले कर्मचारी तथा उनीहरूका बालबालिकामा निहित प्रतिभा, सिर्जनशीलता र कलात्मक क्षमताको पहिचान, प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले “Jyoti’s Got Talent” को तेस्रो संस्करण आयोजना गरेको थियो। विविध कलात्मक तथा सिर्जनात्मक प्रस्तुतिहरू समावेश गरिएको प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई बैंकका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। प्रतियोगितामा सहभागीहरूलाई उनीहरूको उत्साहजनक सहभागिता तथा प्रतिभाको कदरस्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो।
वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय तथा बैंकका शाखा कार्यालयहरुको परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा बैंकका कर्मचारी, ग्राहक तथा सर्वसाधारण गरी करिब ५५ जनाले स्वेच्छिक रक्तदान गरी मानवीय सेवामा महत्त्वपूर्ण योगदान पुर्याएका थिए। यसै अवसरमा कर्मचारीहरूको स्वास्थ्यप्रति बैंकको उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण शिविरसमेत सञ्चालन गरिएको थियो, जसमा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। समारोहमा बैंकको संस्थागत अभ्युदय, सुदृढीकरण तथा प्रगतिमा अविच्छिन्न रूपमा पुर्याएको समर्पित योगदान, अटुट निष्ठा र दीर्घकालीन सेवाको उच्च कदर गर्दै बैंकमा निरन्तर १० वर्ष तथा १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो।

















