मल्टिप्लेक्स चेन क्यूएफएक्सद्धारा प्रदर्शनरत फिल्म ‘गौंथली’लाई सुपरहिट घोषणा
काठमाण्डौं । देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत फिल्म गौंथलीलाई सुपरहिट घोषणा गरेको छ। डा. कपिल रिजाल निर्देशित यो फिल्मले क्यूएफएक्सबाट दोस्रो सातामा सुपरहिटको मान्यता पाएको हो। यतिबेला क्यूएफएक्सको आधिकारिक वेबसाइटमा ‘गौंथली’ लाई यो उपाधि दिएको देखिन्छ। यसअघि गतवर्ष रिलिज फिल्म परान पनि दोस्रो सातामा सुपरहिट घोषणा भएको थियो। क्यूएफएक्सले पहिलो साता आफ्ना सिनेमा घरहरूबाट १ करोड ५० लाख र दुई सातामा २ करोड ५० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको आधारमा सुपरहिट घोषणा गर्ने गरेको छ।
यसको अर्थ फिल्मले दुई साता नपुग्दै यो चेनमा मात्रै साढे २ करोडमाथि कमाइ गरेको छ। गौंथली क्यूएफएक्सबाट सुपरहटिको मान्यता पाउने यस वर्षको पहिलो फिल्म हो। यस वर्ष अहिलेसम्मको सबभन्दा धेरै कमाइ गरेको लालीबजार ले यो मान्यता पाएको थिएन्। ५१ औं दिन मनाएको यो फिल्मको लाइफटाइम ग्रस कमाइ ९ करोड ३२ लाख रुपैयाँ छ। अरूण क्षेत्री र सिम्रन खड्का अभिनीत गौंथलीले गत आइतबारसम्म ७ करोड ४२ लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरिसकेको छ। साउन १ गते रिलिज फिल्म यतिबेला दोस्रो सातामा प्रदर्शनरत छ।

















