राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन नजाने, परराष्ट्रमन्त्रीले प्रतिनिधित्व गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी नहुने भएका छन् । राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन् ।“प्रधानमन्त्रीज्यू नजाने भएपछि राष्ट्रसंघको ८१ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने गरी तयारी अगाडि बढेको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

राष्ट्रसंघको ८१औँ महासभा सेप्टेम्बर ८ बाट न्यूयोर्कस्थित मुख्यालयमा सुरु हुँदैछ । सेप्टेम्बर २२ देखि २६ सम्म उच्चस्तरीय पाहुनाले ८१औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । विगतमा नेपालबाट राष्ट्रसंघको महासभामा प्रायः प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल जाने गर्थ्यो । कहिलेकाहीँ परराष्ट्रमन्त्री र परराष्ट्र सचिवको नेतृत्वमा पनि नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको महासभामा सहभागी हुने गरेको छ । गत वर्ष न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *