शुभकामना साकोसको शेयर पुँजी भन्दा जगेडा कोष बलियो

भक्तपुर । सूर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी भन्दा जगेडा कोष बलियो रहेको छ । संस्थाले प्रकाशित गरेको गत आर्थिक बर्षको असार मसान्तसम्मको वित्तीय विवरणले जगेडा कोष बलियो देखाएको छ । गत असार मसान्तसम्म संस्थाको जगेडा कोष १८ करोड २० लाख ४० हजार पुगेको छ भने शेयर पुँजी ११ करोड ९४ लाख ६४ हजार रहेको छ । संस्थाको शेयर पुँजीको तुलनामा जगेडा कोष झन्डै ७ करोडले बढी रहेको छ । संस्थाले स्थापनाकालदेखि नै संस्थागत पुँजीलाई ध्यान दिएकाले जगेडा कोषमा वृद्धि भएर गएको हो । राष्ट्रिय सहकारी नियमन प्राधिरकणले समेत संस्थागत पुँजीको आधारमा संस्थाहरुलाई बचत तथा ऋणको कारोबार गर्न पाउने व्यवस्था गरेको छ । बलियो पुँजी भएका कारण शुभकामना साकोसलाई भने बचत ऋणको कारोबारको लागि थप टेवा पुग्ने देखिन्छ ।

संस्थाले त्यस अवधिमा १ अर्ब ५१ करोड ७२ लाख बचत संकलन गरी १ अर्ब १७ करोड ७३ लाख ऋण लगानी गरेको छ । मुलुकमा आएको आर्थिक मन्दीका कारण वित्तीय परिचालनमा सुस्तता आउँदा संस्थामा ३३ प्रतिशत माथि तरलता रहेको छ । संस्थामा ५१ करोड माथि तरलता रहेको छ भने सदस्यको माग बमोजिम सहुलियत ब्याजदरमा ऋण लगानी गर्न सक्ने क्षमता संस्थाको रहेको छ । १० हजार २९६ जना सदस्य रहेको संस्थाको कुल सम्पत्ति १ अर्ब ९५ करोड १८ लाख पुगेको छ । संस्थामा १ हजार ३०४ जना बाल बचतकर्ता रहेका छन् । संस्थाबाट ५४३ जना सदस्यले मात्र ऋण लिएर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी अगाडि बढेको संस्थाले सदस्य र समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान पुर्‍याउँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *