रास्वपाले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्ने कार्यविधि

काठमाण्डौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ। स्थानीय तहको निर्वाचन आउन आठ महिना बाँकी रहँदा रास्वपाले क्यान्डिडेट (उम्मेदवार) क्लब र उम्मेदवार छनोट कार्यविधि समेटेर यो रूपरेखा ल्याएको हो। वैज्ञानिक र वस्तुपरक छनोट प्रणाली स्थापना गर्ने तथा योग्य नेतृत्वको सुनिश्चितता गर्ने उद्देश्यका साथ यो व्यवस्था लागू गरिएको रास्वपाले जनाएको छ। आगामी वैशाखमा हुने निर्वाचनमार्फत स्थानीय तहका ३५,२२१ पदका लागि उम्मेदवार छनोट गर्नुपर्ने हुन्छ। रास्वपाको नयाँ रूपरेखा अनुसार सुरूमा उम्मेदवार क्लबमा आवेदन माग गरिने छ। त्यसपछि छनोटका विभिन्न चरणमा हुने परीक्षण पास हुनेहरू मात्र उम्मेदवारका लागि योग्य ठहरिने छन्। मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यमध्ये जुनसुकै पदमा उठ्न चाहनेले पनि यो क्लबमा आवेदन दिन अनिवार्य गरिएको छ। यसका लागि रास्वपाले दुई प्रकारका क्लब तोकेको छ — पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्लब
क्यान्डिडेट क्लबमा आवेदन दिन कानुन बमोजिम योग्यता पुगेको, रास्वपाको साधारण सदस्य रहेको र पार्टीको विचार, सिद्धान्त तथा नीतिलाई समर्थन गर्ने हुनुपर्ने छ। साथै, केही विषयमा स्वघोषणा गर्नुपर्ने सर्त पनि राखिएको छ। उदाहरणका लागि — घरेलु हिंसा, यौन दुर्व्यवहार तथा साइबर बुलिङमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने छ। त्यस्तै, वैवाहिक अवस्थाको कानुनी स्पष्टता र आफूविरूद्ध अदालतमा कुनै मुद्दा भएरनभएको विषय पनि स्वघोषणामा खुलाउनुपर्ने छ।
त्यसपछिका छनोट प्रक्रिया निम्न अनुसार हुने छन् —

१. लिडरसिप एकेडेमी (२५प्रतिशत भारांक) : आवेदन स्वीकृत भएकाहरू रास्वपाको लिडरसिप एकेडेमीमा सहभागी हुनुपर्ने छ। त्यहाँ प्राप्त ज्ञानका आधारमा दिइने परीक्षणको अंकलाई २५ प्रतिशत भारांक मानिने छ। यस एकेडेमीमा फेल हुनेहरू उम्मेदवार छनोट प्रक्रियाबाटै बाहिरिने छन्।

२. पोलिटिकल प्रोक्सिमिटी (२५प्रतिशत भारांक) : एकेडेमीमा सफल भएकाहरूको पोलिटिकल प्रोक्सिमिटी चरणमा मूल्यांकन गरिने छ। यस अन्तर्गत सांगठनिक आबद्धता, चुनाव जित्ने सम्भावना, जनसम्बन्ध, सार्वजनिक लोकप्रियता, आचरण र तटस्थ सामाजिक परीक्षणका आधारमा अंक प्रदान गरिने छ। यसको जाँजबुझका लागि छुट्टै समिति बनाइने छ।

३. समावेशी सम्बोधन (१०प्रतिशत भारांक) : संविधानको समानुपातिक समावेशी सिद्धान्तलाई छनोट प्रक्रियाको अभिन्न अंग मान्दै १० प्रतिशत भारांक छुट्ट्याइएको छ। तर पहिले नै सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुखरउपप्रमुख भइसकेका, मन्त्रीरराज्यमन्त्री वा सोसरहको राजनीतिक जिम्मेवारी पाएका, उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक नियुक्ति पाइसकेका र समानुपातिक वा आरक्षण कोटा उपभोग गरिसकेका व्यक्तिले समावेशीतातर्फको अंक पाउने छैनन्।

४. पार्टीको आन्तरिक निर्वाचन (४०प्रतिशत भारांक) : पार्टी संरचनाभित्रका सदस्यहरूले मतदानमार्फत उम्मेदवार छनोट गर्ने यस व्यवस्थालाई अनिवार्य मानिएको छ। यसको भारांक ४० प्रतिशत रहने छ।

आन्तरिक निर्वाचनका लागि तीन प्रकारका मतदाता मण्डल रहने छन् —

क्रियाशील मतदाता मण्डल (७५ प्रतिशत भारांक) : सम्बन्धित निर्वाचन क्षेत्रका साधारण सदस्यहरू।

मध्यवर्ती सांगठनिक मतदाता मण्डल (१५ प्रतिशत भारांक) : सम्बन्धित क्षेत्रका वडा,पालिका कमिटी, जिल्ला, प्रदेश कमिटी र केन्द्रीय विभागका सदस्यहरू।

( विशिष्ट मतदाता मण्डल (१० प्रतिशत भारांक) : सम्बन्धित क्षेत्रमा मतदाता ठेगाना भएका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र संघीय सांसदहरू। कार्यान्वयन र आचारसंहिता स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयनका लागि केन्द्रीय पदाधिकारीको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिने छ। यस रूपरेखाले आर्थिक लेनदेन तथा चलखेलमा पूर्ण प्रतिबन्ध, आन्तरिक मतदान वा मूल्यांकनमा धाँधली गर्नेलाई कडा कारबाही, गुटबन्दी, दुष्प्रचार र चरित्र हत्यालाई गम्भीर अनुशासनहीनता मान्ने जस्ता दण्ड,सजायसम्बन्धी कडा व्यवस्था गरेको छ। तर कुनै असाधारण परिस्थिति सिर्जना भए यी नियमित प्रक्रियाभन्दा बाहिर गएर पनि उम्मेदवार छनोट गर्न सकिने छ। त्यसका लागि केन्द्रीय समितिको दुईतिहाइ बहुमतले निर्णय पारित गर्नुपर्ने नियम राखिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *