अध्यक्ष ओली हट्नुपर्छ भन्ने कतै छैन

नेकपा एमालेको पार्टी जागरण अभियानका क्रममा विराटनगर आएका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक गतिरोध, सरकारको कार्यशैली र एमाले पुनःगठनको विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडि इलाम र झापाको कार्यक्रममा पार्टी पुनःगठन र नेतृत्व परिवर्तनको कुरा गर्नेहरू आवारा भएको बताएका थिए । पोखरेलले देशको भू–राजनीति र आर्थिक संकटको विषयमा पनि बोले । यही विषयहरूमा रहेर विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले पोखरेललाई विभिन्न प्रश्न गरेका छन् । प्रस्तुत छ उक्त प्रश्नोत्तरको अंशः

देशको अहिलेको अवस्था कस्तो छ ?

अहिले मुलुकमा भू–राजनीतिक चलखेल धेरै बढिराख्या छ । नेपालको खनिज सम्पदाहरूमाथि बाह्य शक्तिहरूको चासो बढेको छ । यस्तो बेला सरकार संवेदनशील हुनुपर्ने हो । विगतमा नेकपा एमालेको सरकारले युरेनियम खानी, पेट्रोलियम पदार्थको अन्वेषण र फलाम खानीको कामलाई समृद्धिको आधार मानेर अगाडि बढाएको थियो । तर, अहिलेको राजनीतिक अस्थिरताले ती चिजहरू अरूको हातमा पुग्ने हो कि भन्ने डर छ । अहिलेका प्रधानमन्त्री संवाद, सहमति र सहकार्यको बाटोभन्दा अलग हुनुहुन्छ । दलहरूबिच जतिसुकै मतभेद भए पनि संवाद हुनुपर्नेमा उहाँ एक्लै हिँड्न खोज्दै हुनुहुन्छ । एमालेले अहिले पार्टी जागरण अभियान चलाइराख्या छ । हामी जनताको जनादेशलाई शिरोधार्य गर्दै पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्न चाहन्छौँ । नयाँ शक्तिको नाममा जुन खालको सन्त्रास र आशंका फैलाउन खोजिएको छ, त्यसले मुलुकको सार्वभौमसत्तामाथि नै प्रश्न उठाएको छ । प्रधानमन्त्रीको कूटनीतिक कमजोरीले गर्दा छिमेकीसँगको सम्बन्ध सन्तुलित छैन । महँगी बढेको छ, लगानी पलायन भइरहेको छ । व्यवसायीहरू त्रासमा छन् ।

अध्यक्षले झापा र इलामबाट भन्नुभो— पार्टी पुनर्गठन भन्दा पनि यो पार्टी जागरण हो । पुनर्गठनको कुरा गर्नेचाहिँ पार्टी कार्यालयमा बसेर आवाराहरूले गर्ने चिया गफ हो भन्नुभो । फेरि तपाईं पुनर्गठनकै कुरा गर्दै हुनुहुन्छ त ?

यो विषयमा के हो भन्दा तपाईंहरूले पूर्वाञ्चलमा आएकै बेला अध्यक्षज्यूसँग कुरा गर्‍या भए राम्रो हुन्थ्यो ।

अध्यक्षले त किर्नासमेत भन्नुभयो नि ?

पार्टीमा सुधार जरुरी छ भन्ने कुरा पार्टीको साझा विषय हो । हाम्रो सचिवालयले निर्णय गरेको कुरा पनि हो । सुधार भनेको शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणसहितको पुनर्गठन हो । उहाँले पुनर्जागरण मात्रै भन्नुभयो भने त्यो पनि ठिकै हो, किनकि अहिले चलिरहेको अभियान नै पुनर्जागरण अभियान हो । अर्कोचाहिँ कार्यदलको माध्यमबाट सुधारका कामहरू जारी छन् ।

फागुन २१ गतेको चुनावको परिणाम पछाडि तपाईंलगायत पदाधिकारीहरूले अब अध्यक्ष पद छोडेर मार्गप्रशस्त गर्नुपर्छ भनेर अध्यक्षज्यूलाई भन्नुभएको कुरा बाहिर आएको छ, यो सत्य हो कि के हो ?

यो पूर्णतः गलत कुरा हो । मैले भन्या भए त तपाईंहरूका बिचमा मै बोलिहाल्थेँ नि, अरूका मुखबाट किन सुन्नु पर्थ्यो र ?

तपाईंले भन्नुभएको चाहिँ के हो त ?

पार्टीमा सुधार गर्नुपर्छ, रूपान्तरण गर्नुपर्छ, पुनर्गठन गर्नुपर्छ ।

तपाईले अध्यक्षले जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्नुभएको हो कि, कार्यशैलीमा सुधार गर्नुपर्छ भन्नुभएको हो ?

सुधार भनेको अहिले जे कारणले हामी कमजोर भयौँ, त्यो कारण पत्ता लगाउने र भोलि बलियो कसरी हुन सकिन्छ, त्यो कुरा गर्ने हो ।

त्यस्तो सुधारचाहिँ कसरी हुन्छ त ? तीन वटा कुरा भन्नुहोस् त ?

महासचिवको हैसियतले मैले केही कारण पत्ता लगाको छु । पहिलो, कमिटी प्रणालीलाई बलियो बनाउने । दोस्रो, जनतासँग जाने, संवाद गर्ने र जनताका भावना बुझेर पार्टीलाई अगाडि बढाउने । तेस्रो, आजको नयाँ पुस्ताले बुझ्ने भाषामा पार्टीका नीति र कार्यक्रम बनाउने । चौथो, अहिलेको सोसल मिडिया वारमा पार्टीलाई सक्षम बनाउने ।

पार्टी पुनर्गठनको प्रतिवेदन अध्यक्षलाई बुझाउनुभएको छ । त्यसमा के छ ? अध्यक्ष ओलीलाई नै सबै दोष दिएको छ भन्ने चर्चा छ नि ?

त्यस्तो होइन । अध्यक्ष ओली हट्नुपर्छ भन्ने कतै छैन । के कमी भयो भन्ने कुरा गरिएको छ, त्यो कार्यदलको प्रस्ताव हो । कार्यदलमा छलफल भएर अन्तिम रूप दिएपछि मात्रै त्यो पार्टीको डकुमेन्ट हुन्छ । त्यो अहिले बाँकी नै छ । त्यसपछि सचिवालयले आवश्यकता अनुसार बाहिर ल्याउँछ ।

पार्टीमा नेतृत्व परिवर्तन र अध्यक्ष केपी शर्मा ओलीको विकल्पबारे बाहिर धेरै चर्चा छ नि ?

नेतृत्व परिवर्तन संस्थागत प्रक्रिया र विधानअनुसार हुन्छ । सामाजिक सञ्जालको बहस वा सार्वजनिक छलफलले नेतृत्व परिवर्तन हुने होइन । महाधिवेशन नै यसको मुख्य थलो हो । पार्टीमा रूपान्तरण आवश्यक छ । तर त्यो विधि र प्रक्रियाबाटै हुन्छ । अहिले नै नेतृत्व परिवर्तन गरिहाल्नुपर्ने स्थिति पार्टीमा छैन ।

तपाईंले विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्नुभयो । त्यो विधिचाहिँ नियमित महाधिवेशन हो कि विशेष महाधिवेशन हो कि अरू के हुन्छ ?

त्यो नियमित महाधिवेशन हो ।

भनेको अबको पाँच वर्ष पछाडि ?

अब के गर्ने भन्ने कुरा केन्द्रीय कमिटीको कुरा हो । केन्द्रीय कमिटीले पहिले पनि गर्न सक्छ, नियमित पनि गर्न सक्छ । यो सामाजिक सञ्जालको बहसको विषय वा सार्वजनिक छलफलले नेतृत्व परिवर्तन हुने चिज होइन ।

एमालेले यसअघि तय गरेको दुई कार्यकाल र उमेर हदको विषय गत वर्षको भदौ २१–२२ को विधान अधिवेशनबाट तपाईंहरूले हटाउनुभयो । अहिले फेरि त्यही विषयमा तपाईंले जोड दिइराख्नुभएको छ भन्ने सुनिन्छ, खास त्यो के हो ?

यो हाम्रो आन्तरिक छलफलको विषय हो । यो विधान महाधिवेशनको विषय हो । अहिले नै छलफल गरेर टुङ्गिने विषय होइन ।

तपाईंको अडान चाहिँ के हो भनेको ?

मेरो अडान त राख्नुपर्ने ठाउँमा राखिहाल्छु नि ।

कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्नुपर्छ भनेर अध्यक्ष लाग्नुभएको थियो तर, तपाईले रोक्नुभयो भन्ने कुरा छ नि ?

पार्टीले के गर्‍यो भन्दा अहिलेचाहिँ स्थिरता जनताले खोजेको कुरा छ । त्यो सन्दर्भमा अहिले नचलाऊँ भन्ने निर्णय गर्‍या छ । पार्टीले आवश्यकताको आधारमा के गर्नुपर्छ, पार्टीले गर्छ ।

निर्णयचाहिँ कसले, कहिले भयो ? कुन कमिटीले गर्‍यो ?

त्यो परामर्शबाट पनि हुने कुरा हो ।

मुख्यमन्त्रीले त मलाई पार्टीको निर्णय चाहिन्छ भन्नुभयो नि ?

यसबारेमा मुख्यमन्त्री तपाईंहरूकै नजिक हुनुहुन्छ, सोध्नुहोला ।

उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाले संसदमा भाषण गर्दै वर्तमान सरकारलाई आर्मी, अमेरिका र अल्गोरिदमले ब्याकअप गर्या छ भन्नुभो, यो पार्टीकै धारणा हो ?

त्यो उहाँले संसदमा बोलेको कुरा हो । कुन शैलीमा, कुन भाषामा भन्नुभो भन्ने उहाँको कुरा हो । हाम्रो कुराचाहिँ भदौ २३ र २४ को घटनामा सुरक्षा निकायले आफ्नो भूमिका निर्वाह गर्न सकेन, राज्यविहीनताको स्थिति देखियो भन्ने हो ।

असार ९ गते दुई दलबिच एमाले र नेकपाबिच तीनबुँदे सहमति भयो । त्यसपछि प्रदेश सरकार पुनर्गठन र विस्तार पनि भए । यसलाई कम्युनिस्ट आन्दोलन र एमाले–नेकपा एकताको आधारको रूपमा पनि व्याख्या गरिँदै छ, खास कुरा के हो ?

अहिले हामी ‘कार्यगत एकता’ को पक्षमा छौँ । हामीले तीन दलका बिचको सहकार्यको कुरा गरेका थियौँ । तर, नेपाली कांग्रेसले प्रदेशमा तीन दलीय सहकार्य उपयुक्त हुँदैन भन्ने मान्यता अगाडि सार्‍यो । किनकि तीन दल मिल्दा प्रतिपक्ष कमजोर हुन्छ भन्ने उसको मान्यता रह्यो । त्यही कारणले गर्दा दुई दलका बिचको सहमतिको स्थिति बनेको हो । यो कार्यगत एकता अन्तर्गतको कुरा हो, पार्टी एकताको विषय होइन । यसमा धेरै द्विविधा राख्नुपर्दैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *