अस्ट्रेलियाद्वारा नेपाललाई ५० लाख डलर सहयोगको घोषणा, ३९ अस्ट्रेलियाली नागरिक बेपत्ता

अस्ट्रेलिया सरकारले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि ५० लाख डलर (५४ करोड ५० लाख रुपैयाँ) को मानवीय सहायता प्याकेज घोषणा गरेको छ । अस्ट्रेलियाली सरकारले यस विपद्को प्रतिक्रिया स्वरूप कन्सुलर र मानवीय सहयोग द्रुत रूपमा परिचालन गरिरहेको बताएको छ । साथै, कम्तीमा ३९ जना अस्ट्रेलियाली नागरिकहरू बेपत्ता भएको पुष्टि गरेको छ । अस्ट्रेलियाली अधिकारीहरू बेपत्ता अस्ट्रेलियालीहरूको अवस्थाबारे पत्ता लगाउन र विपद्बाट प्रभावितहरूलाई सहयोग प्रदान गर्न काम गरिरहेका छन् । अस्ट्रेलिया सरकारले भनेको छ, ‘यस विपद्को असामान्य स्तर र प्रभावित क्षेत्रको विकटताका कारण प्रतिकार्य र पुनःस्थापनामा आगामी दिनहरूमा ठूला चुनौतीहरू रहेका छन् ।’ अस्ट्रेलियाको परराष्ट्र तथा व्यापार विभागले विपदबाट प्रभावित अस्ट्रेलियालीहरूलाई सहयोग गर्न थप कर्मचारीहरू परिचालन गरिरहेको छ । नेपालस्थित अस्ट्रेलियाली दूतावासमा कार्यरत कर्मचारीका साथै संकट प्रतिकार्य टोलीका एक सदस्य र क्षेत्रीय कन्सुलर अधिकृतलाई काठमाडौंमा खटाइएको छ । थप क्षेत्रीय र संकट–प्रतिकार्य कर्मचारीहरूलाई पनि परिचालनको लागि तयार गरिँदैछ । नेपालमा पहिलेदेखि नै काम गरिरहेका अस्ट्रेलियाली कर्मचारीहरूलाई सहयोग गर्न आगामी ४८ घण्टाभित्र तीनजना मानवीय प्रतिकार्य विशेषज्ञहरूको प्रारम्भिक टोली नेपाल पठाइने अस्ट्रेलिया सरकारले बताएको छ ।

‘अस्ट्रेलिया असिस्ट्स’ कार्यक्रमबाट छानिएका ती विज्ञहरूसँग मानवीय मूल्यांकन, बन्दोबस्ती, सञ्चार र आपतकालीन योजनामा दक्षता रहेको छ । व्यापक मानवीय प्रतिक्रियाको हिस्साको रूपमा अस्ट्रेलियाले नेपालमा तत्काल विपद् राहत, प्रतिकार्य र पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्न ५० लाख डलर उपलब्ध गराउनेछ । उक्त कोष स्थापित मानवीय साझेदारहरूमार्फत खाद्यान्न, आपतकालीन आवास, स्वच्छ खानेपानी र सरसफाइ लगायतका अत्यावश्यक सहयोग प्रदान गर्न खर्च गरिनेछ । बाढीले नेपाल–चीन सीमाका दुवैतर्फका समुदायहरूलाई तहसनहस पारेको, बस्तीहरू बगाएको, महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुर्याएको र हजारौं मानिसहरूलाई विस्थापित गरेको अस्ट्रेलिया सरकारले बताएको छ । सडक र पुलहरू ध्वस्त भएकाले धेरै प्रभावित समुदायहरू अझै पनि सम्पर्क विच्छेदको अवस्थामा छन् र त्यहाँ पुग्न कठिन छ जसले मानवीय सहायताको तत्काल आवश्यकतालाई उजागर गरेको छ । ५० लाख डलरको सहायता प्याकेजमध्ये २० लाख डलर विश्व खाद्य कार्यक्रमलाई उपलब्ध गराइनेछ जसले नेपालको आपतकालीन प्रतिकार्यका लागि खाद्यान्न सामग्री र बन्दोबस्ती सहयोग परिचालन गरिसकेको छ । थप २० लाख डलर अस्ट्रेलियाली मानवीय साझेदारी मार्फत अस्ट्रेलियाली गैरसरकारी संस्थाहरूलाई आपतकालीन आवास, स्वच्छता किट, कम्बल, चिकित्सा सहायता र मनोसामाजिक सहयोगका लागि प्रदान गरिनेछ । बाँकी १० लाख डलर प्रभावित क्षेत्रमा स्थानीय नेतृत्वमा हुने पुनःस्थापना र पुनर्निर्माण प्रयासहरूलाई सहयोग गर्न इमर्जेन्सी एक्सन अलायन्सलाई उपलब्ध गराइनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *