आर्थिक रूपान्तरण, युवाका आकांक्षाको सम्बोधन र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्छुः उपसभापति चौधरी
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले आर्थिक रूपान्तरण, युवाका आकांक्षाको सम्बोधन र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै चौधरीले यस्तो बताएका हुन् । ‘आर्थिक रूपान्तरण, युवाका आकांक्षाको सम्बोधन र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने संकल्पका साथ म आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘युवाका सपना, नागरिकका अपेक्षा र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राख्दै समयको मागअनुरूपको सशक्त, गतिशील र जनउत्तरदायी कांग्रेस निर्माण गर्नु आजको हाम्रो साझा दायित्व हो ।’ उनले नेपाली कांग्रेसले राजनीतिक परिवर्तनको गौरवशाली इतिहासलाई अब आर्थिक समुन्नतिको नेतृत्व गर्ने नयाँ इतिहासमा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्ने आफूलाई उपसभापतिमा निर्वाचत गराउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

















