बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट
काठमाडौँ । बागमती प्रदेशले आर्थिक वर्ष २०८२।८३ का लागि प्रदेशभित्रका ११९ वटा स्थानीय तहलाई ८ अर्ब ६५ करोड ८९ लाख ५८ हजार बजेट उपलब्ध गराउने भएको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत अन्तर्गत प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत सो बराबरको वित्तीय हस्तान्तरण गर्न लागेको हो । प्रदेशले चार प्रकारका अनुदान शीर्षकमा सो बराबरको रकम बाँडफाँड गरेको हो । यसमध्ये समानीकरण अनुदानतर्फ १ अर्ब ६६ करोड २५ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ७६ करोड ३० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ २ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ रहेका छन् । प्रदेशमा रहेका तीन महानगरपालिकामध्ये भरतपुरले सबैभन्दा धेरै बजेट पाएको छ । सो महानगरपालिकालाई १५ करोड ४० लाख २५ हजार बजेट विनियोजन भएको हो । राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले १२ करोड ६७ लाख १६ हजार रुपैयाँ बजेट पाउँदा ललितपुर महानगरपालिकाले ७ करोड ४४ लाख ३३ हजार रुपैयाँ मात्र प्राप्त गरेको छ । प्रदेशको राजधानी समेत रहेको एक मात्र उपमहानगरपालिका हेटौँडालाई प्रदेशबाट ११ करोड ४५ लाख ७५ हजार बजेट छुट्टाइएको छ । यसपटक काठमाडौँमा रहेका १० नगरपालिकामध्ये नागार्जुन नगरपालिकाले प्रदेशबाट सर्वाधिक १३ करोड ३० लाख ७५ हजार पाएको छ । त्यस्तै, शंखरापुरले ९ करोड १ लाख ८२ हजार, चन्द्रागिरिले ८ करोड १९ लाख ५५ हजार, गोकर्णेश्वरले ८ करोड ८ लाख ६८ हजार, तारकेश्वरले ७ करोड ७२ लाख ६६ हजार, कागेश्वरी मनोहराले ७ करोड ३९ लाख १७ हजार, दक्षिणकालीले ६ करोड ९३ लाख ८८ हजार, टोखाले ६ करोड ८१ लाख १७ हजार, बुढानीलकण्ठले ६ करोड १६ लाख ४१ हजार र कीर्तिपुर नगरपालिकाले ५ करोड ५४ लाख ५३ हजार रुपैयाँ पाएको छ । प्रदेशले दिने अनुदानमध्ये यसपटक समानीकरण अनुदान काठमाडौँ महानगरपालिका सबैभन्दा धेरै पाएको छ । सो महानगरले सूत्रमा आधारित र कार्यसम्पादन समेत गरी कुल ९ करोड २ लाख ६६ हजार समानीकरण अनुदान पाएको हो । यो अनुदान जनसङ्ख्या, क्षेत्रफल र राजस्व क्षमताजस्ता सूचकका आधारमा दिइन्छ। सशर्त अनुदान अन्तर्गत तोकिएका आयोजनाका लागि दिइने सशर्त अनुदानमा काठमाडौँको नागार्जुन नगरपालिका अगाडि छ । उसले कुल ८ करोड ८६ लाख ८७ हजार सशर्त अनुदान पाएको देखिन्छ । यो रकम शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायत तोकिएका कार्यक्रममा खर्च गर्नुपर्नेछ । विशेष अनुदानतर्फ दोलखाको तामाकोसी गाउँपालिकाले सबैभन्दा धेरै ९० लाख प्राप्त गरेको छ। यो रकम विशेष प्रकृतिका कार्यक्रम र पिछडिएका क्षेत्रका लागि दिइन्छ । त्यस्तै, पूर्वाधार विकासमा प्रदेश र स्थानीय तहको लागत साझेदारीमा दिइने समपूरक अनुदानमा रामेछाप नगरपालिकाले सबैभन्दा धेरै ४ करोड ६८ लाख रुपैयाँ पाएको छ।